उपत्यकामा अनावश्यक हर्न बजाउने १८८ सवारीसाधन कारबाहीमा

काठमाडौं । राजधानीमा ट्राफिक प्रहरीले अनावस्यक रुपमा हर्न बजाउने सवारीसाधनमाथी कडाइ गरेको छ ।

उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनावस्यक हर्न बजाउने सवारी साधनको कारवाहीलाइ अघि बढाएको हो । यसै क्रममा सोमबार मात्रै १८८ सवारीसाधनहरु कारवाहीमा परेको महाशाखाले जनाएको छ ।

त्यसरी अनियन्त्रित बजाइने हर्नले ध्वनि प्रदूषणका कारण मानिसको श्रवण शक्तिमा ह्रास हुने,श्वासप्रश्वास प्रणालीमा असर हुने, हृदयघात हुने, रक्तचाप बढ्दै जाने, पक्षघात हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको महाशाखाका प्रमुख एसएसपी भीम ढकाले जानकारी दिनुभयो ।

सरकारले २०७४ वैशाख १ बाट काठमाडौं उपत्यकामा हर्न बजाउने नियम ल्याएको थियो । त्यसै अनुरुप हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधनलाई कारवाही गरिसकेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?