ओलीद्वारा प्रचण्डको नेतृत्व अस्वीकार !

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले हालै अर्का अधयक्ष प्रचण्डसँग भएको सहमति अस्वीकार गर्ने संकेत छन् । उनले प्रचण्डभन्दा आफू सिनियर रहेको दावी गर्दै आफू पनि पार्टीको कार्यकारी भएको सन्देश दिन खोजेका छन् ।
हालै सम्पन्न नेकपा बैठकले ओली र प्रचण्डलाई समान वरियता दिँदै प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय गरेको भएपनि उनले आफू प्रचण्डभन्दा सिनियर रहेको र कार्यकारी पनि भएको सन्देश दिन खोजेका हुन् ।
उनले पार्टी अध्यक्ष कार्यकारी नै हुने भन्दै कहिले आफू र कहिले प्रचण्डले बैठकको अध्यक्षता गर्ने समेत स्पष्ट पारेका छन् ।
शनिबार राति एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले विगतमा सरकारको नेतृत्व आधाआधा गर्ने भएपनि अहिले त्यसलाई संशोधन गरेर पाँच वर्ष नै आफू प्रधानमन्त्री बन्ने समझदारी बनेको बताए । त्यसका लागि पार्टीमा बढी फोकस प्रचण्ड हुने गरी समझदारी गरेको ओलीको भनाइ थियो ।
‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्धितीय उहाँ (प्रचण्ड) हुनुहुन्छ । विगतमा दुई अध्यक्ष भएपनि पार्टी बैठकको अध्यक्षता र सञ्चालन मैले नै गर्थेँ’, उनले भने, ‘अहिले म बढी सरकारको काममा लाग्नु परेको छ । पहिले पार्टी र सरकारमा बराबर गर्ने पनि भनिएको थियो । बीचमा प्रधानमन्त्री फेर्दा फेरि अस्थिरता हुने देखिएकाले नयाँ समझदारी भएको हो ।’

‘मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । पहिले मैलेमात्रै अध्यक्षता गर्थेँ, अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाहिँ मैले पनि गर्छु । उहाँले पनि गर्नुहुन्छ’, ओलीले भने ।

अहिलेको सन्दर्भमा स्थायित्व अति आवश्यक रहेको बताउँदै  उनले साेही अनुसार आफूहरु पाँच वर्षसम्म प्रधानमन्त्री नफर्ने निष्कर्षमा पुगेकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?