‘साधारण मान्छेको असाधारण राजनीति’

काठमाडौं । कास्की क्षेत्र नं २ निर्वाचन नजिकिँदै गर्दा साना–ठूला दल चुनावी अभियानमा केन्द्रित छन् । चुनावका लागि केन्द्रीय तहका नेताको पोखरा आगमन बढिरहेको छ । ठूला दलका शीर्षनेताका गरमागरम भाषणका समाचारले सञ्चारमाध्यममा दोहोरी चलिरहेको सन्दर्भमा विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्मा भने ‘साधारण मान्छेको असाधारण’ राजनीति भन्दै गुलाफ चिह्न लिएर मतदातामाझ पुग्नुभएको छ ।

सामाजिक विभेद र विसङ्गतिका विरुद्ध खुलेर आवाज उठाउने शर्मा महिला अधिकारकर्मीका रूपमा परिचित हुनुहुन्छ । विशेषगरी सामाजिक मनोपरामर्शदाताका रूपमा आफ्नो परिचय स्थापना गर्नुभएका शर्मा सामाजिक परिवर्तनका लागि राजनीति आवश्यक रहने भन्ने चेतले आफूलाई उम्मेदवार बन्न प्रेरित गरेको बताउनुहुन्छ ।

“म ताँतीका ताँती कार्यकर्ता र घाँटीभरिको माला भिरेर उम्मेदवार बन्न रुचि राख्दिन, परिवर्तनको झिल्का सानोबाट शुरु हुन्छ, म साधारण मान्छेको असाराधारण राजनीतिबाट यसलाई सम्भव तुल्याउने अभ्यासमा छु”, शर्माले भन्नुभयो । “हाम्रो परम्परागत राजनीतिक अभ्यास कस्तो भयो, आजसम्म के पायौँ र अब के पाउँछौँ भनेर मूल्याङ्कन गर्ने सही समय आएको छ । अब उपनिर्वाचनबाट जनताले असल नेतृत्व छान्ने छन् ।”

समाजशास्त्र र मानवशास्त्रमा एवं ग्रामीण विकासमा स्नातकोत्तर ३२ वर्षीया शर्मा कानूनमा पनि स्नातक हुनुहुन्छ । उहाँले प्रारम्भिक शिक्षा बाँके कोहलपुरबाट प्राप्त गर्नुभएको थियो । आफ्नो शिक्षा र विशेषज्ञताले सांसदका रूपमा आफू योग्य हुने उहाँको जिकिर छ । अब सामाजिक रुपान्तरणका लागि स्वच्छ र इमान्दार व्यक्ति राजनीतिमा आउनुपर्ने मतदाताको आवाजले आफूलाई उत्साहित बनाएको शर्माको भनाइ छ ।

“हामी खरायो दौडमा होइन, कछुवा दौडमा छौँ, अहमताको राजनीतिले चर्को आवाज निस्के पनि सेतीजस्तै सुस्ताइरहेका हाम्रा आवाज परिवर्तनका लागि गन्तव्य खोजेर बगिरहेका छन्”, शर्मा भन्नुहुन्छ ।

पोखरा लेकसाइडकी शर्मालाई सघाउन केन्द्रदेखि युवा नेत्री रञ्जु दर्शना मुख्य प्रचारकका रुपमा कस्केली जनतामाझ आइपुग्नुभएको छ । युवा पुस्तामा राजनीतिक चेतको विकास गरेर राजनीतिमा नयाँ धारलाई स्थापित गर्ने लक्ष्य पनि विवेकशीलले लिएको पार्टी नेताहरुको भनाइ छ । पार्टीको सङ्घीय पदाधिकारीमा ५० प्रतिशत महिलालाई विधानमै सुरक्षित गरेकाले पनि राजनीतिप्रति महिलाको रुचिलाई विवेकशील पार्टीले तान्न खोजेको देखिन्छ । युवालाई राजनीतिमा प्रवेश गराउन केही हदसम्म विवेकशीलले प्रयत्न गरेको छ । अहिले पनि हातमा गुलाफ फूल लिएर मतदातामाझ पुग्ने अधिकांश युवामा महिला देख्न सकिन्छ ।

केही समयअघि साझा पार्टीसँग एकता गरेको विवेकशीलले विचार र सिद्धान्त फरक भएको भन्दै एकता तोडेको थियो । अहिले साझा पार्टीका तर्फबाट रजनी केसी ‘मन बदलौँ, मत बदलौँ’ भन्ने नाराका साथ चुनावी मैदानमा हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्या भट्टराईसहित तीन महिला उम्मेदवारको चुनावी अभियान निकै रोचक रूपमा अघि बढेको छ ।

कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाका ११ वडाका कूल ७१ हजार ८७१ मतदाता छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको गत वर्ष फागुन १५ गते हवाई दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा प्रतिनिधिसभा सदस्यका लागि यही मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?