काठमाडौं, २९ भदौ ।शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो १०० दिन पुरा गरेको छ । सरकार निर्माण भएयताको समिक्षा गर्दै सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकारको १ सय दिन उपलब्धिपूर्ण भएको दाबी गरे ।सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले सरकारप्रति जनताको विश्वास बढ्दै गएकाले सरकारको १०० दिन उपलब्धीपूर्ण भएको बताए । सञ्चारमन्त्री बस्नेतले सरकारका उपलब्धीका रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमण, उपप्रधानमन्त्रीको भारत र चीन भ्रमण भएको बताए । यो भ्रमणले छिमेकी देशहरुसँगको सम्वन्ध सुदृढ बन्दै गएको सरकारको दाबी छ ।सरकारले आफ्नो १०० दिनको उपलब्धीका रुपमा भूकम्प पीडितहरुसँग निजी आवास निर्माणका लागि भएको सम्झौता, किस्ता वितरणलाई प्रस्तुत गरेको छ । स्थानीय चुनाव भएको र अन्य चुनावहरु पनि सुनिश्चित भएको, आर्थिक सूचकांक सकारात्मक रहेको तथा सदाचार, सुशासन प्रवर्धन भइरहेको सरकारको दाबी छ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै त्यसका आधारमा सरकारको मूल्यांकन गर्न आग्रह गरे ।प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित कार्यक्रममा उपप्रधानमन्त्रीद्वय महरा र गोपालमान श्रेष्ठको उपस्थिती थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया