सहायक क्याम्पस प्रमुखसहित तीनजना प्राध्यापक थुनिए

काठमाडौं । वीरगञ्जको ठाकुरराम क्याम्पस अनियमित ढंगले क्याम्पसमा प्राध्यापक नियुक्ति गरेको भन्दै विद्यार्थीहरुले क्याम्पसका सहायक क्याम्पस प्रमुखसहित तीनजना प्राध्यापकहरुलाई बुधबार बैठक कक्षमा नै थुनेका छन् ।

क्याम्पसमा अनियमित ढंग बाट प्राध्यापक भर्ना गरेको विरोधमा अनेरास्ववियुले सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ता, रोशन लामिछाने र प्रशासन प्रमुख राजकुमार श्रीवास्तवलाई बैठक कक्षमा थुनेका हुन् ।

समाजशास्त्र संकायमा जनशक्ति हुँदाहुँदै पनि आफन्तलाई जागिर खुवाउनका लागि क्याम्पसले मनपरी ढंगबाट भर्ना खोलेर प्राध्यापक नियुक्त गरेको विद्यार्थीहरुको आरोप छ ।

मुलुकको दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्रमा समेत नातावाद र कृपावाद गर्नु जायज नभएकोले क्याम्पस प्रशासनको मनोमानी रोक्न विरोध गरिएको अनेरास्ववियुका नेता संदीप विक्रम साहले बताउनु भयो । अनियमित ढंगबाट भएको नियुक्ति खारेज नभएसम्म आन्दोलन जारी राख्ने साहले बताउनुभयो ।

अनेरास्ववियुसँगै राजपा निकटको राष्ट्रिय विद्यार्थी संघ र समाजवादी पार्टी निकटको समाजवादी विद्यार्थी युनियनले पनि क्याम्पसमा तालाबन्दी गरेका छन् । विद्यार्थीहरुले तीनै जना प्राध्यापकहरुलाई करिब एक घण्टा बैठक कक्षमा नै थुनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?