चितवन मेडिकल कलेजले सरकारसँगको सहमति कार्यान्वयन थाल्यो

काठमाडौं । चितवन मेडिकल कलेजले सरकारसँगको सहमति कार्यान्वयन गर्न सुरु गरेको छ ।

कलेजले सरकारसँग भएको सहमतिअनुसार बढी लिइएको रकम फिर्ता वा समायोजन गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।

कलेजले पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर १० गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा मेडिकल कलेजका सञ्चालकसहितको बैठकपछि भएका सहमति सुरु भएको जानकारी दिएको हो ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले सरकारसँगको दुईबुँदे सहमति पालना गर्न थालिएको बताउनुभएको हो ।

सहमतिमा विश्वविद्यालयबाट परामर्श गरी बैंकिङ प्रणालीद्वारा विद्यार्थी भर्ना प्रक्रिया थालनी गरिएको शैक्षिक सत्र २०७४/०७५ र २०७५/०७६ मा नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजले बुधबारबाट बढी लिएको रकम फिर्ता वा समायोजनको कार्य थालनी गर्ने उल्लेख छ ।

त्यसैगरी शैक्षिक सत्र २०७२/०७३ र २०७३/०७४ को हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने भन्ने उल्लेख छ ।

सरकारले दिने निर्देशन र सहमति पालना गर्नु मेडिकल कलेजको दायित्व भएकोले सहमति अनुसार आफुहरु अगाडि बढेको न्यौपानेले जानकारी दिनुभयो । सरकारसँग भएको सहमतिले नेपालको मेडिकल शिक्षाका आउने दिनहरु विवादरहित हुँने उहाँको भनाई छ ।

सरकारसँग भएको सहमतिपछि आन्दोलरत विद्यार्थीको माग पनि पूरा भएको बुझाई मेडिकल कलेज सञ्चालकको रहेको भन्दै उहाँले आन्दोलरत विद्यार्थीलाई तत्कालै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर पठनपाठनको सहज वातावरण बनाउन अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?