साग प्रतियोगिता: पहिलो दिन चार खेल

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक उद्घाटन आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ विशेष कार्यक्रमकाबीच सागको उद्घाटन गरिने भएको छ ।

सागको उद्घाटनसँगै आइतबारबाट विभिन्न खेलहरुको समेत प्रतिस्पर्धा सुरु हुनेछ । भलिबल खेल भने बुधबारबाट सुरु भईसकेको छ ।सागको पहिलो दिन काठमाडौंमा भलिबलसँगै कराते र खोखोको खेल सुरु हुनेछ । पोखरामा ब्याडमिन्टन सुरु हुनेछ ।

राखेप कभर्ड हलमा आइतबार पुरुष भलिबलतर्फको सेमिफाइनल खेल हुनेछ ।

बिहान ११ बजेपछि हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंकाबीच खेल हुनेछ । यस्तै दिउँसो साढे एक बजेपछि हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

करातेको पहिलो दिन उद्घाटन र खेल तालिका सार्वजनिक कार्यकम मात्र हुनेछ । प्रतिस्पर्धा सोमबारबाट हुनेछ । किर्तिपुर नयाँ बजारमा हुने खोखोमा महिला र पुरुष दुवैतर्फको खेल हुनेछ ।

महिलातर्फ नेपालले बंगलादेशको सामना गर्दा भारतले श्रीलंकासँग खेल्नेछ । पुरुषतर्फ भारतले श्रीलंका र नेपालले बंगलादेशसँग खेल्नेछ । खेलहरु ९ बजेपछि सुरु हुनेछ ।

पोखरा रंगशालाको कभर्ड हलमा ब्याडमिन्टनतर्फ पुरुष र महिला टिम इभेन्ट्सको क्वाटरफाइनल र सेमिफाइनलको खेल हुनेछ । बिहान १० बजे सुरु हुने प्रतिस्पर्धामा दुवै तर्फ (महिला र पुरुष) ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

क्वाटरफाइनलमा नेपालले भुटानसँग खेल्नेछ । यस्तै बंगलादेशले पाकिस्तानसँग खेल्नेछ । भारत र श्रीलंका भने बाई पाएर सिधै सेमिफाइनलमा पुगेको छ ।

बंगलादेश र पाकिस्तानबीचको विजेताले सेमिफाइनलमा भारतको सामना गर्ने छ भने नेपाल र भुटानको विजेताले सेमिफाइनलमा श्रीलंकाको सामना गर्ने छ ।

ब्याडमिन्टनमा सेमिफाइनल पुग्ने राष्ट्रले कम्तिमा कास्य पदक पक्का गर्ने छन् । त्यसैले भुटानलाई पराजित गर्न सके नेपालको कम्तिमा पदक निश्चित हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?