काठमाडौं, ३ माघ । आश्रय सेल्टर नेपालले असहाय, अनाथ तथा सडक बालबालिकाको संरक्षणका लागि विस्तृत कार्यक्रम र भौतिक पूर्वाधारको विकासमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने माग गरेको छ आश्रय सेल्टर नेपालकी अध्यक्ष खुश्बु ओलीले पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै नेपालमा बालबालिकाको स्थिति अत्यन्तै कमजोर रहेकाले पर्याप्त बजेट र कार्यक्रम बनाउन माग गरेकी हुन् ‘बालबालिका भविष्यका कर्णदार हुन् । भविष्यका राष्ट्रका नेतृत्वकर्ता हुन्। तर, लाखौं बालबालिकाले अहिले पनि भविष्य निर्माण गर्ने विद्यालयको ढोका देख्न नै पाएका छैनन् । कतिपय बालबालिकालाई कदेखि ज्ञसम्म लेख्न पनि आउँदैन । माघको जाडोमा धेरै बालबालिका पेटीमा खाली पेट सुतिरहेको देखिन्छ’, ज्ञापन पत्रमा भनिएको छ, ‘अनेक समस्या र बाध्यताका बीच बालबालिकाहरु सडकमा बस्न र पढ्ने उमेरमा मागेर दैनिकी चलाउन बाध्य छन् । यो परिवेशको अन्त्य गर्न नै सेल्टर आश्रय नेपालको स्थापना गरिएको हो । सामाजिक सेवाको क्षेत्रमा कार्य गर्ने मुख्य लक्ष्य बनाएको संस्थाले सडकमा रहेका बालबालिकालाई सुन्दर भविष्य प्रदान गर्ने कोसिस गरिरहेको छ । तर, हाम्रो लक्ष्यमा केही अवरोध र चुनौतीहरु देखा परेका छन्। बालबालिकालाई मजदूरको रुपमा प्रयोग भइरहेको अवस्था छ ।’अध्यक्ष ओलीले मानव बेचबिखन, यौनशोषण लगायतका हिंसामा बालबालिकाको प्रयोग रोक्नका निम्ति सीमित कार्यक्रम बनेपनि त्यसको व्यावहारिक कार्यान्वयन हुनै नसकेको बताउँदै नेपालमा सडक, अनाथ तथा असहाय बालबालिकालाई संरक्षण र उचित शिक्षादिक्षाको प्रबन्ध गर्ने कार्य लक्ष्य अनुसार अघि बढ्न नसकेको जनाएकी छिन् ‘नेपाल प्राकृतिक, सांस्कृतिक र अनेक आयामले धनी देश हो । तर, आर्थिक विपन्नताको अन्त्य हुने स्थिति अझै बनि सकेको छैन’, ज्ञापन पत्रमा भनिएको छ –‘अध्यक्ष कमरेड, तपाईले नै नेतृत्व गर्नु भएको १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनपछि संविधान निर्माणसँगै मुलुक आर्थिक समृद्धि र विकासतर्फ अघि बढिरहेको अवस्थामा सडकमा रहेका बालबालिकाको सुन्दर भविष्यका लागि तपाई र तपाईको पार्टी नेकपा माओवादी केन्द्रको पनि योगदान रहन्छ भन्ने हाम्रो अपेक्षा छ ।’स्कूल जाने उमेरका स–साना बालबालिकाहरु सडकमा बटुको बोकेर माग्न उभिने स्थिति रहेसम्म देशको उन्नति हुन नसक्ने ओलीको धारणा छ सेल्टर आश्रय नेपालले बालबालिकालाई खेलकुदको माध्यमबाट सशक्तिकरण गर्ने लक्ष्य राखेको जनाउँदै ज्ञापन पत्रमा बालबालिका खेल्नका बढी रुची राख्ने भएकाले पनि उनीहरुको मानसिकतालाई बदल्नका लागि खेलकुदलाई प्राथमिकता दिइएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया