१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटान समक्ष २३७ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । नेपालले टी–२० मा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए । मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए । टि–२० मा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रा खेलाडी हुन् । यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए ।
यस्तै पारस खड्काले २८ बलमा ९ चौका र १ छक्काको मद्दतले ५७ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए । भुटानका कर्मा दोर्जीले नेपालका २ र तोब्देन सिंगेले १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया