मध्यपूर्वमा सेना नपठाएकाे पेन्टागनको दावी

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले मध्यपूर्वमा अमेरिकाले कम्तीमा पनि १४ हजार सैनिक पठाउन लागेको भनी आएको समाचार सत्य नभएको बताएको छ ।

उक्त समाचार सत्य नभएको भन्दै अमेरिकाले ती सेना मध्यपूर्वमा पठाउन नलागेको जनाएको छ । इरान विरुद्धको संघर्षका लागि अमेरिकाले ती सेना पठाउन लागेको भनी समाचार आएको थियो ।

पेन्टागनका प्रवक्ता अलिसा फराहले उक्त समाचारको खण्डन गर्नुभएको हो । उहाँले सो समाचारमा आएजस्तै अमेरिकाले त्यति ठूलो संख्यामा सेना मध्यपूर्वमा पठाउने विषयमा कुनै पनि तयारी नगरेको बताउनुभएको छ ।

उहाँले ट्वीट गर्दै भन्नुभएको छ– त्यो रिपोर्टिङ गलत छ, हामीले त्यहाँ सेना पठाउन लागेका छैनौँ ।

अमेरिकाको पत्रिका वाल स्ट्रिट जर्नलले बुधबारको आफ्नो अंकमा सो समाचार लेखेको थियो । उक्त समाचारमा अमेरिकाले इरानसँग लड्नका लागि ती सेना पठाउने तयारी गरेको लेखेको थियो ।

ट्रम्प प्रशासनले सो तयारी गरिरहेको र ती सेना मध्यपूर्वमा पठाउने बारेमा निर्णय भइसकेको भनी सो पत्रिकाले समाचार लेखेको थियो ।

सो पत्रिकाले लेखेको समाचार गलत भएको भन्दै पेन्टागनका प्रवक्ता फराहले आफ्नो ट्वीटमा अमेरिकी रक्षा मन्त्रालयको आधिकारिक भनाई भन्दै सो जानकारी गराउनुभएको थियो ।

यसका साथै उहाँले आफ्नो ट्वीटमा तर अमेरिकाले इराकमा सेना पठाउने तयारी भने गरेको जानकारी दिनुभएको छ ।

अमेरिकी सिनेटर जस हलीले पनि यस समाचारको सत्यता के थियो भनेर अमेरिकी सरकारमाथि प्रश्न गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?