काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो ।
नेपालका करण केसीले अविजित रहदै सर्वाधिक ४० रन बनाए । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३९, बिनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९-१९ रन बनाउँदा आरिफ शेखले १७, पारस खड्काले ११ र रोहित पौडेलले १० रन बनाए ।
माल्दिभ्सका लिम शफिगले ३ तथा अमील मौरुफले २ विकेट हात पारे । साग क्रिकेटको फाइनल सम्भावना कायम राख्न नेपाललाई माल्दिभ्समाथिको जित अनिवार्य रहेको छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
नेपालले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो ।
माल्दिभ्सविरुद्ध पनि नेपाल कीर्तिमानी जितको योजनामा रहेको छ । माल्दिभ्सले २ खेलमा अंक जोड्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया