काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गरेको छ ।
घिसिङले नेपालमा विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्याएवापत उक्त पुरस्कार दिइएको हो ।
नाष्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले घिसिङलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
हरेक वर्ष नाष्टले विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । घिसिङ लगायत अन्य विभिन्न विधामा नास्टले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरेको थियो ।
प्रा.ज्ञ. प्रा.डा. जनार्दन लामिछानको पुरस्कार मूल्याङ्कन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो । घिसिङलाई एक लाख रुपैयाँ नगद पुरस्कार साथै सम्मान पत्र प्रदान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया