ला लिगमा मेस्सीको ३५ औं ह्याट्रिकसँगै बार्सिलोनाको शानदार जित

एजेन्सी । स्पेनिस लिगको खेलमा बार्सिलोनाले मलोर्कालाई ५-२ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको हो । सातौ मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । मेस्सीले १७ औ मिनेटमा बार्साको अग्रता दोब्बर बनाए ।

मेस्सीले ४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-१ ले अघि बढाए । त्यसको दुई मिनेटपछि लुईस स्वारेजले बार्सिलोनाका लागि चौथो गोल गरे ।

बुदिमिरले ६४ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनसंगको अंक दुरी घटाउने प्रयास गरेका थिए । तर ८३ औ मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई शानदार जित दिलाए ।

मेस्सीले ला लिगमा ३५ औ ह्याट्रिक पुरा गरेका छन् । उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको सर्वाधिक ह्याट्रिकको कीर्तिमान तोड्न सफल भएका छन् ।

बार्सिलोना १५ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

समान अंक भएपनि गोल अन्तरका आधारमा बार्सिलोनाले रियल मड्रिडलाई उछिनेको छ । मलोर्का १४ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?