एजेन्सी । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा सहज जित हात पारेको छ । रियलले बुधबार राति भएको खेलमा ब्रुगिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल मड्रिड यसअघिनै नकआउट चरणमा प्रवेश गरिसकेको छ । समूह एको विजेताको रुपमा पीएसजी र उपविजेताको रुपमा रियल अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।
१८ बर्षिया रोड्रिगोले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । अल्वारो ओड्रियोजोलाको क्रसलाई सदुपयोग गर्दै उनले ५३ औं मिनेटमा भालीमार्फत गोल गर्न सफल रहे । त्यसको दुई मिनेटपछि घरेलु टोलीका हान भनाकेनले खेल बराबरीमा ल्याएका थिए । भिनिसियस जनियरले ६४ औं मिनेटमा गोल गर्दै रियललाई अगाडी बढाउने काम गरे ।
खेलको ईन्जुरी समयमा लुका मोड्रिचले गोल गर्दै रियललाई ३–१ को जित दिलाए । रियल पछिल्ला १० खेलमा अपराजित छ । क्लबले ग्यारेथ बेललाई बैकल्पिक खेलाडीको रुपमा प्रयोग गरेन । क्लब ब्रुगिस तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गर्यो ।
समूह एको खेलमा उसले ३ अंक बटुल्यो । ११ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया