काठमाडौं । किराँत समुदायको उल्लेख्य बसोबास रहेको पूर्वी जिल्लाहरुमा आज चासोक तङ्नाम (उधौली पर्व) धुमधामका साथ मनाइँदै छ । नयाँबाली पाकेपछि पहिले प्रकृतिलाई चढाउने (न्वागी खाने) अनि मात्रै मानिसले प्रयोग गर्ने किराँत समुदायको परम्परा छ । लिम्बू समुदायमा आदिमकालदेखि नै न्वागी पूजा गरी अन्नप्रति सम्मान गर्ने परम्परा छ ।
अन्नलाई किराँत समुदायले माङ् (देवता) का रुपमा मनाउने गर्दछ । धान पाक्ने मौसम कात्तिकदेखि धान्य पूर्णिमासम्म नै पाकेको अन्नबालीलाई थान थापेर पूज्ने र प्रकृति देवीलाई चढाउने गरिन्छ । यो पर्व आजबाट १५ दिनसम्म मनाइन्छ । नेपाल सरकारले चासोक तङ्नाम( उधौली पर्व)का दिन विदा दिँदै आएको छ ।
किराँत समुदायको महान पर्वको रुपमा रहेको चासोक तङ्नाम (उधौली पर्व)लाई विशेष महत्वका साथ मनाउने गरिन्छ । पर्व तङ्नाम शुरु भएसँगै यसको रौनकताले छपक्कै छोपेको छ । विगतका वर्षमा जस्तै यो वर्ष पनि किराँत समुदायले सामूहिक रुपमा पूजा आजासहितका कार्यक्रम आयोजना गरी चासोक तङ्नाम मनाउँदैछन् ।
धान्य पूर्णिमाका दिन लिम्बूसहित किराँत समुदायमा पर्ने राईले साकेला, याखाले चासुवा र सुनुवारले फोलस्यादरका रुपमा यस पर्वलाई मनाउँदै आएको पाइन्छ । पूर्वका नौ वटा जिल्लासँगै प्रवासमा रहेका किराँत नेपालीहरुले पनि यो पर्व मनाउँदै छन् । विशेष लिम्बू वस्तीमा ढोल र झ्याम्टाको तालमा यति बेला केलाङ (च्याबु्रङ) नाच घन्किरहेको देख्न पाइन्छ ।
चासोक तङ्नामका अवसरमा हातमा झ्याम्टा, काँधमा ढोल बोकेर बजाउँदै कोदोको रक्सी, तोङ्बा र विभिन्न लिम्बू परिकार खाँदै लिम्बूहरू रमाउने गर्छन् ।
बारीभरि पैयुँ फूलेको छ । यही समयलाई किराँतीले उधौली याम (दक्षिणायन) शुरु भएको संकेतका रूपमा चासोक चाड मनाउँछन् । उभौलीयाम शुुरु भएसँगै लिम्बूले मंसिर पूर्णिमाको दुई दिन अघिदेखि घरघरमा र चुम्लुङ हिम (घर) मा जम्मा भएर ‘चासोक तङ्नाम’ मनाउने चलन रहेको छ ।
प्राचीन तथा मौलिक चाड चासोक तङनाम के हो ?
किराँतीहरूको महान चाड चासोक तङ्नाम प्रत्येक मंसीर पूर्णिमामा मनाइने एक प्राचीन तथा मौलिक चाड हो । चासोक तङनामका विषयमा मुन्धुमले यसरी वर्णन गरेको छ– खसआर्य भाषामा ‘चासोक’को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ चाडपर्व हुन्छ । किराँत लिम्बूहरूले चासोक तङनामलाई प्रमुख चाडको रुपमा मनाउँदै आएका छन् ।
किराँत मुन्धुम अनुसार–“कृषियुग शुरु हुनभन्दा अगाडि किराँत लिम्बूहरूको पुर्खाहरूले कन्दमुल काँचै खाने गर्दथे । त्यस कारण कुपोषण भइ अनेकौँ रोग लाग्यो । रोगबाट मुक्ति पाउन मेन्निमाङ, मेन्थामाङ तागेरा निङ्वाफुमाङको प्रार्थना गरे ।
प्रार्थना गर्दा तागेरानिङ्वाफुमाङले पेना (कोदो), पारामा (कोदोसँगै फल्ने कोदो जस्तो) तुम्री (जुनेलो), ताक्मारु (घैया), लगायतको बिउबिजन उनै तागेरा निङ्वाफु माङले दिलाउनु भयो ।”
वर्णनमा भनिएको छ, पुर्खाहरूले उक्त बिउबिजन पाएपछि, ती पुर्खाहरूका चेली सिवेराएःक्थुक्मा सिवेरा याबुकेक्माले काठको खन्ती र अङ्कुसेको सहयोगले खोरीया फाँडेर अन्नको बिउ छरी फलाइन्छ । त्यसपछि सावायेत्हाङहरूले खेतीपाती गर्न सिके ।
फलाएको अन्न आगोमा पकाइ खान थाले । उनीहरूलाई रोग पनि लाग्न छोड्यो । सन्तानहरूलाई पनि रोगले आक्रमण नगरेपछि जनसंख्या बढ्न थाल्यो ।
खेती गरेर अन्न फलाउन सिकाउने आफ्ना चेलीको यो पुन्य कामदेखि खुशी भई सावा येत्हाङहरूले उनलाई आशिष र बरदानका रुपमा आफूले फलाएको अन्न चेली सिवेरा एःथुक्मा सिवेरा याबुकेक्मालाई नाली कुजेन भनी चढाएपछि मात्र खाने बाचा गरे । सोही समयदेखि किराँत लिम्बू जातिमा चासोक तङनामको थालनी भएको किराँतको मुन्धुममा वर्णन गरिएको पाइन्छ ।
चासोक तङ्नामको अवसरमा मेला
चासोक तङ्नामको अवसरमा मेलाको वर्षेनी आयोजना गरिँदै आएको चासोक मेलाको आयोजना गरिन्छ । यस वर्ष पनि विभिन्न मौलिक साँस्कृतिक कार्यक्रम र रमाइलो मेला सहित आजबाट मेला शुरु भएको छ । पाँचथरसँगै ताप्लेजुङ, इलामलगायत जिल्लामा मेला लाग्ने गर्दछ ।
यसवर्षको चासोक मेला पुष ४ गतेसम्म चल्नेछ । चासोक मेला अन्तर्गत पाँचथरको ऐतिहासिक सुम्हात्लुङ मन्दिर परिसरमा सामूहिक न्वागी पूजा गरिएको छ । मेलामा दोस्रो दिन मंसीर २६ तगे चौंथो सुम्हात्लुङ मिनि म्याराथन आयोजना हुनेछ ।
त्यस्तै मंसिर २७ गते वरादान संगीतालयको संयोजनमा वृहत साँस्कृतिक कार्यक्रम हुनेछ । मंसिर २९ गते याक्थुङ प्रज्ञा प्रतिष्ठानको संयोजनमा लिम्बू कविता गोष्ठी हुनेछ ।
मेलामा विभिन्न जातजातिको साँस्कृतिक झाँकी सहित पालाम् गायन, केलाङ्, हाक्पारे, संगीनि, बालन, मारुनी नाँच, डम्फू नाँच, तामाङ सेलो, धामीनाँच, साकेला नाँच, हुर्रा नाँच प्रस्तुत गरिनेछ ।
व्यवसाय प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुहरुको बजारिकरणका लागि विभिन्न जातजातिको साँस्कृतिक परिकार तथा भेषभूषाहरुको स्टल राखिने मेलाको सल्लाहकार संस्था किराँत याक्थुङ चुम्लुङ पाँचथरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया