काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ईतिहासमै सबैभन्दा बढी पदक हाँसिल गर्नुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै सदस्य सचिव सिलवालले सरकारले खेलाडीहरुका लागि घोषणा गरेको पुरस्कारले खेलाडीहरुको बनोबल बढेको समेत बताउनुभयो । त्यसैले खेलाडीहरुलाई एशियन, ओलम्पिक र विश्वकपको तयारीका लागि तयार गर्न सजिलो भएको समेत बताउनुभयो । उहाँले सागका लागि चाहिने आवश्यक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिंदा समयमै काम सम्पन्न गर्न सकिएको जानकारी समेत दिनुभयो । उहाँले आफुले साग सुरु हुनुभन्दा पहिला नै कम्तिमा पनि ५० स्वर्ण पदक जित्ने भन्दा नपत्याएको उल्लेख गर्दै अहिले प्रमाणीत भएको बताउनुभयो ।
विभन्नि २१ खेलको प्रशिक्षण विदेशमा गरिएकाले समेत परिणाम राम्रो आएको बताउँदै खेल क्षेत्रमा अझ बढी लगानी आवस्यक रहेको उहाँले बताउनुभयो । साग सकिएसँगै आफूहरुको अबको ध्यान १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्व कपसम्म रहेको बताउनुभयो ।
उहाँले खेलकुद क्षेत्रको क्रमिक सुधार भएको बताउँदै खेललाई उत्पादनशील क्षेत्रको रुपमा अगाडी बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । फुटबल, क्रिकेट तथा भलिबलमा निरन्तर लिग खेल खेलाउने बताउनुभयो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा गण्डकी प्रदेशमा हुने समेत जानकारी उहाँले दिनुभयो । त्यस्तै अवको चार वर्ष भित्र ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा समेत उहाँले गर्नुभयो ।
उहाँले सागको सम्पूर्ण खर्च विवरण ९० दिन भित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाउँदै सागमा पदक जित्ने खेलाडीहरुलाई शुक्रबार बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगरपरिक्रमा गराउने समेत बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया