केशव भट्टराईको अप्रत्यासित मृत्युमा शोकाकुल सामाजिक सञ्जाल, संसार छोड्नुअघि लेखेका थिए भावुक स्टाटस

काठमाडौं । बितेको दुई दिनमा देशले दुई कलाकार गुमाएको छ । अघिल्लो दिन अर्थात् शनिबार कलाकार दीपक क्षत्रीको निधन भएको थियो भने भोलिपल्ट (आइतबार) अर्का कलाकार एवं चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको पनि निधन भएको छ ।
भनिन्छ मृत्यु अनिश्चित छ । हर कुरालाई जितेर पनि मानिस अन्त त मृत्युसँग हार्छ । मृत्युले सानो ठुलो केहि भन्दैन ।
त्यसैले त कवि शिरोमणि लेखनाथ पौड्यालले लेखेका छन्,

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो….

शनिबार कलाकार क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएका थिए । लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका क्षेत्रीको ५८ वर्षको उमेरमा निधन भएको हो ।

यस्तै आइतबार राति चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार भट्टराईको निधन भएको हो । उनको ५४ वर्षको उमेरमा निधन भएको हो ।
मृत्यु हुनुभन्दा एक दिन अगाडी मात्रै आफ्नो फेसबुकमा एक फोटो शेयर गर्दै दीपक क्षेत्रीलाई श्रद्वान्जली दिएका भट्टराईले सायदै कल्पना गरेका थिए भोलिपल्ट उनैका शुभचिन्तकहरु पनि उनलाई श्रद्वान्जली दिन बाध्य हुन्छन् भनेर ।
उनले लेखेको त्यो श्रद्वान्जली …..

भट्टराईको निधनपश्चात् उनलाई उनका शुभाचिन्तक र कलाकारकर्मी, राजनीतिज्ञहरुले दुख व्यक्त गर्दै विभिन्न माध्यमबाट श्रद्वान्जली दिएका छन् । उनको निधनमा दुख व्यक्त गर्दै चलचित्र बोर्डकी पुर्व अध्यक्ष निकिता पौडेलेले सामाजिक सञ्जाल फेसबुक मार्फत श्रद्वान्जली व्यक्त गरेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, “चलचित्र बिकास बोर्डका कार्यकारी अध्यक्ष, अभिनेता, निर्माता आदरणीय दाई केशब भट्टराईको असमाहिक निधनको दुःखद् खबरले स्तब्ध बनाएको छ। दाईको आत्माको चीर शान्तीको निम्ति कामना गर्दछु।
शोकको यो घडीमा परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस, स्वर्गमा बास होस्, भावपुर्ण श्रद्धाञ्जली!”

त्यस्तै कलाकार तथा निर्माता दिपकराज गिरीले भटराईलाई श्रद्वान्जली दिँदै लेखेका छन्, “यो फ़ोटो खोजेर यस माथि समबेदना लेख्दाको पिडा म शब्दमा बयान गर्न सक्दिन…अकल्पनियताको पराकाष्ठा
अस्ति स्व. शिब रेग्मीको मृत्युको बारेमा उहॉलाइ लाइ सम्झेर दुइ अक्षर लेखेको थिए.. हिजो मात्रै दीपक क्षेत्री दाइको मृत्युले दुखित तुल्यायो र केहि शब्द कोरे आज उनै शिब रेग्मीका प्रिय पात्र .
एक सच्चा चलचित्रकर्मी केशबजी बित्नु भयो भन्ने समाचारले स्तब्ध भएको छू….. मान्छे मरे पछि मात्रै उस्को प्रशंसा गरिने हाम्रो समाजमा उहॉ एउटा यस्तो पात्र जल्लाइ म ज्यूदै प्रशंसा गर्थे……म मात्रा होइन सायद धेरैले …,,
“ बिकाश बोर्डमा नियुक्त भएकै दिन मलाइ उहॉले भन्नु भएको थियो “तपाइले काम नगर्र्नेहरूलाइ खूब उडाएर लेख्नु हुन्छ अब मेरो पालो हो भनेर सोच्नु भाको होला तर म तपाइलाइ सकेसम्म त्यो मौका नै दिन्न मित्र “ भन्नु भएको कुरा प्रतिध्वनित हूदै अहिले पनि कानमा गुन्जिरहेछ …..
मृत्यु पछि हरेक मृतकका अगाडि मृदुभाषि लेखिन्छ तर उहॉ अनुभूति नै हुने गरेर साच्चिकै मृदुभाषी हुनुहुन्थ्यो ….
अरूका दुखलाइ आफ्नो ठानेर बोलिदिने, सहयोगी, सम्पूर्ण जीवन चलचित्र क्षेत्रमा अर्पण गर्रेका एक होनहार ब्यक्तित्व गुमाउनु परेकोमा ठूलो पिडा बोध भैरहेको छ …., यो नेपाली चलचित्र जगतको लागि साच्चिकै अपूरणीय क्षति हो …..तर अन्तिममा उहि शब्द दैवले नै “ कट इट एन्ड प्याकअप “ भने पछि त्यॉहा रिटेक को सम्भावना रहन्न… मुटुलाइ गुजुल्टो पारेर भन्नै पर्छ
अलबिदा! अलबिदा!! अलबिदा प्रिय मित्र केशब भट्टराइ……..”

त्यसैगरी हाँस्य कलाकार हरि वंस आचार्यले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत भटराईलाई श्रद्वान्जली दिएका छन् । उनले लेखेका छन्, चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई ज्वुको असमायिक निधनको खबरले अत्यन्त दुखित बनायो ।
हार्दिक श्रद्धाञ्जली ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनको बीचमा दुई प्रतिभावान कलाकार गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले ट्वीटरमार्फत दुबै कलाकारप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले ट्वीटरमा भनेका छन्, “बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

यतिबेला अन्तिम श्रद्वान्जलिका लागि स्वर्गीय भट्टराईको शव चलचित्र विकास बोर्डमा राखिएको छ । भटराईलाई अन्तिम श्रद्वान्जली दिन उनका शुभचिन्तक, विभिन्न राजनीतिज्ञ, कलाकर्मी लगाएत पुगेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?