काठमाडौं । १४ डिसेम्बर २०१९मा जमैकाकी टोनी–एन सिंघ ६९औं विश्व सुन्दरी घोषित भइन् । लगभग डेढसय भन्दा धेरै देशका दुई अर्बभन्दा धेरैले लाइभ हेरेको मिस वर्ल्डको ‘ग्रान्ड फिनाले’ नेपालीका लागि पनि महत्वपूर्ण सावित भयो ।
कारण ‘मिस वर्ल्ड नेपाल’ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड’को शीर्ष १२ औँ सूचीमा पुग्न सफल भइन् । श्रेष्ठ शीर्ष १२ मा मात्र पुगिनन्, उनले प्रतियोगितामा महत्वपूर्ण तीन टाइटलसमेत जित्न सफल भइन् ।
‘ग्रान्ड फिनाले’ चलिरहँदा लन्डनमा आयोजित मिस वर्ल्डको मञ्चमा शानका साथ प्रस्तुत भएकी अनुष्का मिस वर्ल्ड विजेता जमैकन सुन्दरीले ताज पहिरिंदा छेउमै बसिरहेकी थिइन् । उनी मिस वर्ल्डको प्रत्यक्ष प्रशारण हेरिरहेका दुई अर्ब मानिसको नजरमा परेकी थिइन्। मिस वल्र्ड आयोजकले सार्वजनिक गरेका तस्वीरमा अनुष्का मिस वर्ल्ड विजेता टोनी–एनको दायाँतिर देखिएकी छिन्।
मिस नेपाल अनुष्काको आत्मविश्वास विश्व सुन्दरी प्रतियोगिताको सेमिफाइनलसम्मको यात्रामा तय गरेकी अनुष्काले आम रूपमा श्रृंखला खतिवडाले जस्तो साथ र समर्थन पाउन सकिनन्।
तर, उनको उपलब्धि श्रृंखलाको भन्दा धेरै रह्यो । धेरैले उनी यो सथानसम्म आइपुग्नुको पछाडि आत्मबिश्वास मान्छन् । मिस वर्ल्डमा भाग लिन जानुअघि अनुष्काले प्रतियोगिताका निर्णायकहरूलाई ‘नेपाल किन मिस वर्ल्ड बन्न सक्दैन ? भन्ने प्रश्नको जवाफ दिने बताएकी थिइन्।
प्रतियोगितामा उनले निर्णायक तथा आयोजकको मन राम्रैसँग जितिन्। साथै आफूूलाई बलियो प्रतिस्पर्धीका रूपमा विश्वसामु उभ्याउन सफल बनिन् ।
अनुुष्काले प्रतिस्पर्धामा मात्र ध्यान दिइनन् साथमा नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार पनि गरिन् । उनले मिस वर्ल्डमा सहभागी विश्वभरका सुन्दरीहरूलाई नेपाल भ्रमणको निम्तो दिएकी छन्। उनको निमन्त्रणालाई स्वीकार गरेर धेरै देशका सुन्दरीले नेपाल भ्रमण गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
विश्व सुन्दरीको ताज पहिरिने सपना सायद कसलाई नहोला। तर, त्यो उपलब्धि हाँसिल गर्नु त्यति सहज भने पक्कै हुँदैन। गत वर्षकी मिस वर्ल्ड नेपाल श्रृंखला खतिवडाले भनेकी थिइन्, “अनुष्का पनि मिस वर्ल्डको प्रमुख दाबेदार हुन सक्छिन्।” थोरै चर्चा, धेरै उपलब्धि मिस वल्र्डमा अनुष्काले महत्वपूर्ण तीन टाइटल जितिन्।
गत वर्षको ‘मिस वर्ल्ड’मा नेपालबाट सहभागी भएकी श्रृखंला खतिवडाले दुई टाइटल मात्र हात पारेकी थिइन् । उनले ‘ब्यूटी विथ अ पर्पस अवार्ड’ र ‘मल्टिमिडिया अवार्ड’ जितेकी थिइन् तर श्रृंखलाको भन्दा धेरै अवार्ड जितेकी अनुुष्काको भने चर्चा कमै भयो ।
श्रृंखलाको चर्चा त्यो बेलादेखि नै चुलीयो जुनबेला उनी मिस वल्र्डमा भाग लिन जाने कुरा चलिरहेको थियो । प्रतियोगिता अवधि शुरू भएदेखि नै उनलाई सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम र नेपालीको राम्रो साथ मिलेको थियो।
तर श्रृंखलाको तुलनामा अनुष्काको चर्चा भने खासै भएन। अनुष्का न त सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छाइन् न त उनलाई श्रृंखलाकै जति नेपालीको साथ नै मिल्यो । तर श्रृंखलाले पाएको उपलब्धि भन्दा अनुष्काले हाँसिल गरेको उपलब्धि भने खास रह्यो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया