काठमाडौं । चितवनमा एक युवती र एक किशोरीलाई देहव्यापारमा संलग्न गराएको खुल्न आएको छ । भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर २२ वर्षीया युवती र १४ वर्षीया किशोरीलाई देहव्यापारमा सङ्लग्न गराएको खुल्न आएको हो ।
काठमाडौँबाट चितवन लगि फिल्मी शैलीमा होटलमा लुकाएर उनीहरुलाई देहव्यापारमा लगाएको पाइएको छ । प्रहरीका अनुसार वडा नं २९ मा रहेको होटल खोटाङ हलेसी एण्ड सगरमाथा गेष्टहाउसका सञ्चालकले काठमाडौँबाट हराएका एक युवती र एक किशोरीलाई देहव्यापारमा लगाएको हो ।
उनीहरुलाई देहव्यापारमा लगाएको आरोपमा प्रहरीले होटलका सञ्चालकसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गेष्टहाउसका सञ्चालक ५० वर्षीय जङ्गबहादुर क्षेत्री, उनकी श्रीमती ३९ वर्षीया निर्मला थापा र धरान उपमहानगरपालिकाकी २४ वर्षीया रेसिका राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेकालाई सार्वजनिक समेत गरेको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उनीहरुले घरमा सन्देश पठाएपछि प्रहरीले सो होटलमा छापा मारेको हो । काठमाडौँमा कोठा भाडा गरी बस्ने २२ वर्षीया युवती र १४ वर्षीया किशोरीलाई काठमाडौँबाट चितवनसम्म लैजाने काम राईले गरेकी खुलेको छ ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमार्फत पाँच दिनको समय थप गरी अनुसन्धान शुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया