भारतबाट आपूर्ति रोकिएसँगै चिनियाँ बजारबाट भित्रिन थाल्यो प्याज

काठमाडौं । नेपाली बजारमा प्याजको अभाव भएपछि चिनियाँ बजारबाट आयात गर्न थालिएको छ ।

भारतबाट आपूर्ति रोकिएसँगै नेपाली बजारमा प्याजको अभाव भएको थियो । नेपाली बजारमा प्याज अभाव हुँदा मूल्य ह्वात्तै बढेको अवस्थामा त्यसलाई राहत दिनेगरी चीनबाट प्याज आयात गर्न थालिएको हो । अहिले बजारमा चिनियाँ प्याज भित्रिन थालिसकेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार पछिल्लो समय दैनिक ४० देखि ४५ मेट्रिक टन चिनियाँ प्याजले नेपाल प्रवेश पाउन थालेको छ । भारतीय प्याजको आयात रोकिएपछि व्यवसायीहरु चिनियाँ प्याजतर्फ आकर्षित भएको कालिमाटी फलफूल तथा तरकारी व्यापार संघले बताएको छ ।

यसरी आयात गर्न थालिएको चिनियाँ प्याज भारतीय प्याजको तुलनामा निकै सस्तो समेत रहेको व्यवासयीहरुले बताएका छन् । भारतीय प्याजको तुलनामा चिनियाँ प्याज झण्डै ५० प्रतिशतले नै सस्तो पर्ने व्यवसायीहरुको भनाइ छ ।

हाल कालिमाटी फलफूल तथा तरकारी बजारको थोक बजारमानै भारतीय प्याज प्रतिकेजी २१० देखि २५० रुपैयाँ सम्म पर्ने गरेको छ । तर चिनियाँ प्याज भने ११० देखि १४० रुपैयाँ प्रतिकेजीमा नै उपलब्ध हुँने गरेको व्यवसायीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?