अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनद्धारा क्षमा याचना

काठमाडौं । अट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा आगलागीको घटना भइरहेको बेला आफू पारिवारिक भ्रमणमा रहेकोमा क्षमा याचना गर्नुभएको छ । शुक्रबार बिहान जारी गरेको वक्तव्यमा उहाँले आफू भ्रमण रद्ध गरेर स्वदेश फर्किन लागेको उल्लेख गर्नुभएको छ ।

देशमा आगलागीको घटना भइरहेका बेला प्रधानमन्त्री भने पारिवारिक भ्रमणमा रहेको भन्दै आलोचना भएपछि उहाँले क्षमा याचना गर्नुभएको हो ।
अष्ट्रेलियाको न्यु साउथ वेल्समा आगलागी जारी रहेको र नियन्त्रणको प्रयास असफल भइरहेको अधिकारीहरुले जनाएका छन् ।

राजधानी सिड्नीमा रहेको प्रधानमन्त्री निवासअगाडी प्रदर्शनकारीहरुले बिहीबार प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरेका थिए ।उनीहरुले जलवायु परिवर्तनका बारेमा तत्काल कदम चाल्न प्रधानमन्त्री मोरिसनलाई आग्रह पनि गरेको स्थानीय सञ्चार माध्यम ‘स्पेशल ब्रोडकास्टीङ सर्भिस (एसबीएस)’ले उल्लेख गरेको छ ।

अष्ट्रेलियामा प्रधानमन्त्रीले जनवरीमा बिदा लिने प्रचलन रहेकोमा यस पटक उहाँले डिसेम्बरमा बिदा लिनु भएको हो । जनवरीमा जापान र भारतको भ्रमण गर्ने तालिका रहेकाले डिसेम्बरमै बिदा लिएको मोरिसनले बताउनु भएको छ ।

“मैले गहिरो पश्चाताप व्यक्त गर्दै माफी याचना गर्न चाहन्छु, देशमा ठूलो आगलागीको घटना भइरहेको अवस्थामा म पारिवारिक भ्रमणमा रहेँ,” उहाँले शुक्रबार भन्नुभएको छ ।

उहाँले आगलागी र त्यसको नियन्त्रण तथा घाइतेहरुको उपचारका लागि भइरहेको प्रयास सम्वन्धी जानकारी आफु नियमित रुपमा लिइरहेको बताउनुभयो ।

अष्ट्रेलियाका ठाउँ ठाउँमा लागेको आगो निभाउनका लागि अग्निनियन्त्रकहरू परिचालित भएका छन् । देशका कम्तीमा एक सय भन्दा बढी ठाउँमा फैलिएका डढेलो निभाउन उनीहरुले संघर्ष गरिरहेका अधिकारीहरुले जनाएका छन् । सिड्नीको दक्षिणपश्चिममा डढेलो नियन्त्रणका लागि खटिएका दुई अग्निनियन्त्रकको मृत्यु भइसकेको छ ।

सेप्टेम्बरदेखि हालसम्म यी डढेलोका कारण अष्ट्रेलियामा ८ जनाको ज्यान गइसकेको छ भने ७०० भन्दा धेरै घर नष्ट भएका छन् । दशौँ लाख हेक्टर जमिन आगोको चपेटामा परेको छ ।

सबैभन्दा धेरै गर्मी भएको दुई दिनको कीर्तिमानी रेकर्ड बनाएकै बेला अष्ट्रेलियामा आगलागी भएको हो । सिड्नीमा तापक्रम अहिलेसम्मकै सबैभन्दा बढी ४७ डिग्री सेल्सीयससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?