काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्ने सहमति भएको छ । केहिबेर अघि बालुवाटारमा अध्यक्षद्वयले भेट वार्ता गरी सभामुख बनाउने विषयमा टुङ्गो लगाएका हुँन् । यद्यपी दुवै नेताले प्रस्ताव गर्नुअघि नाम गोप्य राख्ने निर्णय गरेको गरेको जनाइएको छ ।
अध्यक्षद्वयले पार्टीको स्थायी कमिटी बैठक, पार्टीका विभिन्न विभागको पूर्णतालगायतका विषयमा छलफल समेत गरेका छन् । प्रतिनिधि सभाको आजबाट हिउँदे अधिवेशन सुरु हुँदै छ । संसद बैठक पहिले दिउँसो २ बजे नेकपाको संसदीय दलको बैठक बस्दैछ ।
तर, प्रतिनिधिसभाले सभामुख पाउन एक साता लाग्ने बताइएको छ । आज सुरु शुरु हुने संसदको बैठक कम्तीमा एक हप्ता स्थगित गर्ने तयारी भइरहेको बताइएको छ ।
यो हप्तादिनमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख निर्वाचन प्रक्रिया शुरु हुने नेकपा स्रोतले जनाएको छ ।
शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजे बस्नेसमेत तय गरेको छ । उक्त बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
नेकपामा उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेले सभामुखको दावी गर्दै आएकी छन् । पूर्वसभामुख सुबास नेम्वाङ, स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउनु पर्ने प्रस्ताव पनि रहेको छ । सभामुखका आकांक्षी अन्य थुप्रै नेता रहेका छन ।
शुक्रबार संसद बैठकमा अधिवेशन सुरु भएकोबारे राष्ट्रपतिको पत्र, मन्त्रिपरिषदका सदस्य हेरफेरबारे राष्ट्रपतिको पत्र पढेर सुनाउने कार्यसूची छ ।
त्यस्तै चार जना पूर्वसांसदको शोक प्रस्ताव पारित गर्ने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सात जनाको नाम पढेर सुनाउने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया