महिलाको ‘क्ल्यू’ ले प्रहरीलाई सहज, अपहरणमा परेका शाही यसरी सकुशल ल्याईए

काठमाडौं- शनिबारदेखि अपहरणमा परेका ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष धिरबहादुर शाहीलाई सशस्त्र प्रहरीले कालीकोटबाट सकुशल उद्दार गरेको छ ।

शनिबार राति घरमा सुतिरहेकै बेला अज्ञात समूहले उनलाई अपहरण गरेका थिए । मध्यरातमा अचानक कसैले बेस्सरी ढोका ढकढक्याएपछि शाहीकी श्रीमती इलाले ढोका खोल्दा १०- १२ जनाको समूहमा आएका नकावधारी समूहले गाउँपालिका अध्यक्ष शाहीलाई अपहरण गरेको थियो । नकावधारी समूहले हामीले बाटो बिरायौँ, ठाँटीकाँध बजार जाने बाटो सोध्न खोजेको कताबाट जाने होला । भन्दै ढोका खोल्न लगाएका थिए । बारम्बार ढोका ढकढक गरेपछि शाही आफैं टर्च लिएर ढोका खोल्न आएका थिए । ढोका खोल्नेबित्तिकै उनको कञ्चटमा पेस्तोल ताक्दै केहि कुरा गर्नुछ भन्दै शाहीलाई घरबाट लैजान खोजेपछि इलाले प्रतिकार गरी आफू पनि श्रीमानसँगै जाने अडान लिइन् । दुवै जनालाई लिएर गएको नकावधारी अज्ञात समूहले करिब दुई घन्टा पैदल हिँडेपछि इलालाई जंगलमा छाडेको थियो ।
यो समाचार पढ्नुहोस् ।
ठाँटीकाँध गाउँपालिका अध्यक्ष शाही अझै अज्ञात, श्रीमती जंगलमा भेटिइन्

जंगलमा छुटेपछि उनले गाउँपालिकाको वडा नं १ का वडाध्यक्ष नर्तमबहादुर बुढा उनलाई उनले खबर गरिन् । वडाध्यक्ष बुढाले प्रहरी र स्थानीय प्रशासनलाई घटनाबारे जानकारी गराएपछि इलाले हतियारधारी समूह कालिकोटतिर लागेको सूचना प्रहरीलाई दिइन् । त्यही सूचना फलो गर्दै गएको प्रहरी टोलीसँगै सशस्त्र प्रहरीको कालिकोट गुल्मको टोली पनि अपरेशनमा खटियो । तिव्र खोजी हुन थालेपछि यो सूचना आम नागरिकले थाहा पाइसकेका थिए ।

कालिकोटको शुभकालिका गाउँपालिका–१, छाती क्षेत्र आसपास पुगेको सशस्त्र प्रहरीको टोलीलाई एक महिलाले दिएको क्यूले अपहरीत शाहीलाई छुटाउन मदत गर्यो । विप्लव समूहले शाहीलाई राखिएको घर परिवर्तन गर्न लाग्दा आफूले देखेको सूचना उनले प्रहरीलाई दिएपछि प्रहरीले घर घेरेर फायरिङ गरेको थियो । त्यसपछि नकावधारी समूह जंगलतिर भागेको थियो ।

विप्लव समूहले लियो, घटनाको जिम्मेवारी
यसैबिच सशस्त्र प्रहरीले शाहीको उद्दार गरेलगत्तै विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविको नामबाट जारी विज्ञप्तिमा ‘शाहीले ठाँटीकाँध गाउँपालिकामा चरम भ्रष्टाचार गरेको, कमिशन खाएको र सीआईडी गरेकाले पार्टीको नियन्त्रणमा लिइ आवश्यक छानविनसहित सकुशल राखिएको छ ।’ भनि लेखिएको छ ।

यता, अध्यक्ष शाही अपहरणमा परेको खबर पाएपछि काम विशेषले सदरमुकाम आएकी उपाध्यक्ष सुस्मिता सिंह गाउँपालिका फर्किने तयारीमा छिन्, आज गाउँ कार्यपालिकाको बैठक बोलाइसकिएको उनले बताइन् ।

 

यो पनि पढ्नुहोस् । 

अज्ञात समुहद्वारा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?