एजेन्सी । स्विडेनको माल्मो रंगशाला अगाडि राखिएको फुटबल स्टार ज्लाटन इब्राहिमोभिचको शालिकमाथि केहि समर्थकले रिस पोख्दै शालिकको नाक काटिदिएका छन् ।
ज्लाटन इब्राहिमोभिचको शालिक चार वर्ष लगाएर बनाइएको थियो । इब्राहिमोभिचको सम्मानमा इब्राहिमोभिच जन्मिएको स्विडिस शहर माल्मोमा राखिएको उक्त शालिक स्वयं इब्राहिमोभिचले अनावरण गरेका थिए । शालिकको उचाई ८ फिट ९ इन्च रहेको छ ।
इब्राहिमोभिचको शालिकको नाक कसले काट्यो भन्ने विषयमा स्थानीय प्रहरीले खोजी गरिरहेको छ । यसअघि पनि इब्राहिमोभिचको शालिकमाथि हुल्याहा समर्थकले दूर्व्यवहार गरेका थिए । इब्राहिमोभिचले आफ्नो चिर प्रतिद्वन्द्वी क्लब ह्यामरबीमा लगानी गर्ने समाचार सार्वजनिक भएपछि माल्मोका समर्थक उनीसँग रुष्ट बनेका छन् ।
इब्राहिमोभिच स्विडेनले जन्माएको अहिलेसम्मकै महान् फुटबलर हुन् । सन् २००१ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
उनले नेदरल्यान्ड्सको आयाक्स, इटालीको युभेन्ट्स, स्पेनको बार्सिलोना, इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड र फ्रान्सको पेरिस सेन्ट जर्मनबाट खेलेका छन् ।
यतिबेला उनी अमेरिकाको मेजर लिग सकर क्लब लस एन्जल्स ग्यालेक्सिमा आबद्ध छन् । उनले एलए ग्यालेक्सिका लागि ५६ खेल खेल्दै ५२ गोल गरिसकेका छन् । उनले यही सिजनदेखि एलए ग्यालेक्सी छाड्ने पनि निश्चित भइसकेको छ ।
गत अक्टोबलर ९ तारिखमा माल्मो रंगशाला अगाडि कांशबाट बनेको उनको ३.५ मिटर अग्लो शालिक अनावरण गरिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया