काठमाडौं । नेपालको भूमि आफ्नो नक्सामा राखेर नयाँ नक्सा सार्वजनिक गरेको भारतले बल्ल मुख खोलेको छ । नेपालको लिम्पियाधुरा क्षेत्र समेटेर भारतले आफ्नो नक्सामा राखेपछि दुई देशबीचको सीमा विवाद चर्किएको बेला भारतले यो विषयमा बोल्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
हो, आफ्नो भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालले विरोधमा कूटनीतिक नोट पठाउँदै वार्ताको प्रस्ताव गरेकै बेला कालापानी क्षेत्रमा सीमा समस्या रहेको स्वीकार्दै भारतले पत्र नै पठाएको आजका पत्रपत्रिकाले छापेका छन् ।
कान्तिपुर दैनिकले लेखेको छ यसै साता नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पत्र पठाइएको छ । समाचार अनुसार पत्रमा कालापानी, सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको उल्लेख छ ।
वार्ताका लागि नेपालले यसअघि मितिसहितको प्रस्ताव गरे पनि भारतले पठाएको जवाफमा भने मिति उल्लेख छैन । ‘पत्रमा आपसी समझदारीमा उपयुक्त तिथिमा वार्ता गर्ने व्यहोरा छ’, भारतले पठायो पत्र शीर्षक समाचारमा कान्तिपुरले लेखेको छ ।
यसैबिच भारतले अहिले अमेरिकाका लागि राजदूत रहेका हर्षवर्द्धन शृंगलालाई नयाँ विदेश सचिवमा नियुक्त गरेको छ । उनी सन् १९८४ व्याचका कर्मचारी हुन् । उनी अंग्रेजी र हिन्दीका अतिरिक्त भियतनामी, फ्रेन्च र नेपाली भाषा पनि बोल्ने त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
उनकै पालामा सीमा विवादलाई लिएर वार्ता हुन सक्ने समाचारमा जनाइएको छ । उनी नेपालबारे निकै जानकार व्यक्ति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया