टुँडिखेल र खुलामञ्चमा भूमाफिया रगरग गर्नुको भित्रि कुरो : सरकारकै संरक्षण !

गत कार्तिक २३ देखि हरेक शनिबार स्थानीय जनताले टुँडिखेल क्षेत्र जोगाउने ‘अक्युपाईड टुँडिखेल’ चलाउन थालेका छन् र यो कार्यक्रम निकै सफल पनि भएको छ । ‘काठमाडौँको मुटुमा अवस्थित टुँडिखेल र खुलामञ्च हेर्दाहेर्दै भूमाफियाको अधीनमा पुग्ने खतरा बढ्न थालेको र सरकार स्वयं भूमाफियाको संरक्षक भएको भोगेपछि नागरिक अग्रसरता बढेको हो । ९० सालको महाभूकम्प वा ०७२ को भयावह भूकम्पजस्ता संकटकालीन अवस्थामा राजधानीबासीलाई आश्रय दिएको, आपत पर्दा जनताले ज्यान जोगाउने र आश्रय पाउने जनताको साझा थलोलाई सत्ताको आडमा दुस्साहस पालेका कतिपय भूमाफियाहरू कब्जा गर्न सल्बलाईरहेका छन् । जनस्तरबाट यसको सुरक्षाका लागि सरकारमाथि निर्णायक दबाब सृजना गर्न सकिएन भने खुलामञ्च र टुँडिखेलको आयु अब छैन भन्ने सन्देश आमनागरिकले पाईसकेका छन् ।

कुनै बेला राजदरबारको ढोकादेखि दशरथ रंगशालासम्म नै फैलिएको टुँडिखेल एशियाको सबभन्दा ठूलो सहरी मैदानको रुपमा आउँथ्यो । अतिक्रमण गरी खुम्च्याउँदा खुम्च्याउँदै बाँकी रहेको खाली ठाउँ पनि भूमाफियाको हातमा जाने भएपछि नागरिक स्तरबाटै यस्तो अभियान चलाउनु जरुरी भईसकेको थियो । तर यतिले मात्र पुग्दैन ।

रत्नपार्कसँगै अवस्थित ‘पुरानो बसपार्क’ मा भ्युटावर बनाउने ठेक्का दिइएकोले निर्माणमा बाधा नपुगोस् भनी त्यहाँ रहेको बसपार्क खुलामञ्चमा सारेपछि माफियाहरूले पहिलो सफलता पाए । भ्यु टावर बनाउने कामका लागि २१ फागुन २०७१ मा ठेक्का पाएको कम्पनी ‘जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स् प्रा. लि.’ लाई खुला मञ्चमा रेस्टुराँ, स्वास्थ्य सुविधा, शौचालय र बस स्टाण्ड तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्न काठमाडौँ महानगरपालिकाले २४ चैत २०७३ मा अर्को ठेक्का दियो । तर उक्त कम्पनीले निर्माण कार्यलाई तीब्रता दिनुको सट्टा खुलामञ्चको साढे १३ रोपनी जग्गामा उसले अवैध रुपमा ५२ वटा पसलका लागि टहरा हाली ब्यापार गर्न भाडामा लगायो । एउटै पसल हत्याउनका लागि विचौलिया वा दलाललाई ५ लाखदेखि १५ लाखसम्म रकम बुझाईएको फेला प-यो । ती टहराहरू गत हप्ता जनताले भत्काईदिएका थिए ।

खुलामञ्चबाट धेरै धुलो उड्यो भन्ने बहाना गरेर गत असोज २५ गते चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको मौका पारेर त्यहाँको जमिनमा पक्की ढलान गर्ने हर्कत भयो । त्यसलाई स्थानीय जनताको दबाबले त रोकियो । तर माफियाको दुस्साहस रोकिएको छैन । जनताबाट दह्रिलो खबरदारी भएन भने टुँडिखेललाई कसैले बचाउन सक्नेछैन भन्ने तत्वज्ञानबाट जनसमुदाय चनाखो भईसकेका छन् ।

नेपाली सेनाले टुँडिखेलको एक भाग मासेर त्यहाँ भोजभतेर र जाँड–मासु खाने ब्यापारिक स्थल बनाएको, खेलकूदका लागि टुँडिखेल एकलौटी ओगटेको जस्ता गतिविधिलाई पनि जनताले रुचाएका छैनन् । नेपाली सेनाको सुधारमा लागिपरेका वर्तमान प्रधानसेनापति जनरल पूर्णचन्द्र थापाले यसको विकल्प पनि खोज्लान कि भन्ने जनसमुदायको अपेक्षा छ ।

कालो इतिहासको एउटा अध्याय
२०१७ को राजनीतिक परिवर्तनपछि टुँडिखेलमा अतिक्रमण गरी त्यहाँस्थित ऐतिहासिक ‘खरीबोट’ चौतारोलाई मासेर बनाइएको आजको सैनिक मञ्च, २०२० साल कार्तिक ७ गते राजा महेन्द्रले उद्घाटन गरेका हुन् । लोकतन्त्रका लागि हतियारका साथ लडेका प्रजातन्त्रका योद्धाहरूबाट मारिएका तत्कालीन शाही सेनाका जवानको सम्मानस्वरुप राजा महेन्दकै इच्छाले बनेको सैनिकमञ्च चढ्ने सिँढीको बिचमा राखिएका एक हुल सैनिकका मूर्ती (हे.फोटो) लोकतन्त्रका लागि भएको हतियारयुक्त संघर्षमा मारिएका तत्कालीन शाही सेनाका जवान हुन् । खासगरी २०१८ सालमा नेपाली कांग्रेसले शुरू गरेको सशस्त्र कारवाहीको बिरुद्धको स्मारकका रुपमा यो सैनिक मञ्च ठडिएको इतिहासको अध्याय छ ।

उक्त सैनिक मञ्च उद्घाटन गर्दै राजा महेन्द्रले आफ्नो संवोधनमा प्रष्टै भनेका थिए, “…..केही भागेका अन्तर्राष्ट्रिय तत्वहरूले विदेशमा बसी, निर्लज्ज भई देश बाहिरबाट आफ्नै देशमा ध्वंसात्मक कार्यमा लागेर विभिन्न क्षति पु¥याउन लागेकोमा त्यस्ता देशद्रोहीहरूको सामना गर्दा भोक–प्यास आरामलाई बिर्सी जीउ–ज्यानको समेत माया नराखी देशको रक्षा र गौरबको निम्ति लडी वीरगति प्राप्त गर्ने हाम्रा देशभक्त नेपाली जनता, बफादार शाही सेना, होम गार्ड र पुलिसको पावन स्मृति हाम्रा र भावी नेपाली सन्तानका दिलमा सदा ताजा रहने त छँदैछ, ता पनि त्यसको एक प्रतिकस्वरुप एउटा स्थायी स्मारक बनाई ती वीर देशभक्तहरूको कदर गर्ने मेरो प्रवल इच्छालाई पूरा गर्न यो स्मारक बनाईएको हो….” (नेपालको राजनीतिक दर्पण, तेस्रो भाग, पृ. ६८६, ०४० को संस्करण) ।

पञ्चायतकालमै पञ्चायती शासनको तारिफ जनतालाई सुनाउन खुलामञ्च बन्यो । खुलामञ्चमा शाही नेपाली सेनाले हरेक शुक्रबार र शनिबार साँझ संगीत बजाएर मनोरन्जन दिने गथ्र्यो । ती सबै हराए । रत्नपार्कको औचित्य समाप्त भईसक्यो ।

एकातिर सैनिक मञ्च, अर्कातिर महेन्द्रकी रानीको नाममा रत्नपार्क, सँगै खुलामञ्च, २०२२ सालमा सहिद गेट निर्माणका साथै टुँडिखेल चिरेर बाटो निकालिएको, दशरथ रंगशाला, सैनिक हेडक्वार्टर…..यसप्रकारले टुँडिखेलको हुर्मत लिने काम अति नै भयो पञ्चायत कालमा । त्यो बेला काठमाडौँ उपत्यकामा यत्रतत्र फराकिला जग्गा प्रशस्तै थिए, तर पनि सबै यहीँ वरिपरि बनाइयो । दरबारमार्गको वस्ती पनि महेन्द्रकै पालामा फैलियो । त्यसभन्दा अघि चन्द्र शम्शेरका पालामा विशाल टुँडिखेल मास्ने काम भयो, पहिलो बिजुली अड्डाको स्थापना, त्रिचन्द्र कलेजको निर्माण आदि गतिविधि गरेर ।

टुँडिखेल आफैँ इतिहास हो र संस्कृति मञ्चन हुने डबली पनि हो । यसले मल्ल कालदेखि नै विशिष्ट महत्व राख्दै आएको छ । गुरूमापा राक्षसका किंवदन्ती र घोडेजात्राको उत्पत्ती, पाहाँचह पर्व, अजिमाको मूर्ती सवार गराउने अनुष्ठान, द्येपूजा, नेपाली सेनाको स्थापना दिवसमा हुने शिवरात्रीको बढाईँसहित दशैँको फूलपाती बढाईँ आदि अनेकौँ सांस्कृतिक महत्व टुँडिखेलसँग छ । त्यसलाई टुँडखेलसँगै मास्ने गम्भीर षड्यन्त्र यहाँ चलिरहेको छ ।

सबभन्दा पुरानो अभिलेख सन् १७२१ मा ईपोलितो देसिदेरी नामका इटालियन पादरी तिब्बतबाट भारततिर जाँदा मल्लकालीन काठमाडौँमा रोकिएको र उनले आफ्नो नियात्रा (ट्राभेलग) मा नगरको द्वार बाहिर पोखरी (रानीपोखरी) नजिकै दुई माईल लामो मैदान एवं मैदानको वरिपरि अनेकौँ मन्दिर देखेको उल्लेख गरेका थिए । ती मन्दिरमध्ये नेवारी परिभाषामा लुमरी अजिमा (भद्रकाली) र महांकाल मन्दिर टुँडिखेलमा अझै छन् ।

आज खुलामञ्चसहित विशाल टुँडिखेललाई माफियाको राक्षसी पञ्जाबाट उम्काउनु छ । त्यसका लागि राजधानीका प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी र दायित्ववोध गर्दै यस कार्यमा स्वस्फूर्त रुपमा निरन्तर सरिक हुनु जरुरी छ । नत्र टुँडिखेलको जग्गा भूमाफियाको कब्जामा पुगेको दिन नागरिकले पछुताउनु बाहेक कुनै विकल्प बाँकी रहने छैन । चन्द्रमणि गौतम 

यसअघि लोकपथमा प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
मनोजकुमार भेटवाल जसले खुल्लामञ्च बिक्री गरे! 

लेखकका अरु आलेखहरुको लागि यहाँ क्लिक गर्नुहोस्

1.उपचुनावको रहस्य र यथार्थ ! 
2. गोर्खाली नभए कसरी चल्छ भारतीय सेना ? भारतीय पत्रकारले जे देखे 
3. वायु प्रदुषणको असर : सखाप हुँदैछ हाम्रो पर्यावरण, एक सनसनीपूर्ण खुलासा ! 

4. के कांग्रेसले दिशा गुमाएकै हो ? 
5. चर्चित नेपालीहरुको रोचक साइनो : को कसको के नाता पर्छ ? 

6. निर्जीव हुँदै संविधानका काला अक्षर, कसले भर्ने प्राण ?

7. राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग किसुनजीका ऐतिहासिक संवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?