काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रक्रियाको लागि कडाई गर्ने भएको छ । राष्ट्र बैंकले व्यक्तिगत घर तथा गाडी कर्जामा कडाइ गर्न लागेको हो । राष्ट्र बैंकले त्यस्ता व्यक्तिगत किसिमका कर्जामा कडाइ गर्नका लागि मंगलवार एक सर्कुलर जारी गरेको छ । यससँगै बिभिन्न बैंक तथा वित्तीय संस्थालाई कडाइ गर्न निर्देशन समेत दिएको छ । अब व्यक्तिगत किसिमका बिभिन्न कर्जा जस्तै आवाधिक कर्जा, घर तथा गाडी कर्जामा आम्दानीको ५० प्रतिशत भन्दा बढि किस्ता नबढ्ने गरि कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यो व्यवस्था लागु भएसँगै कर्जा लिने व्यक्तिको आम्दानीको स्रोत खुल्ने आधिकारीक कागजपत्र पेश गर्नुपर्नेछ । साथै उक्त कागजातमा ऋणीले पेश गरेको उक्त आम्दानीको स्रोतमा कर चुक्ता तिरेको आधारमा मात्र आम्दानीको गणना गर्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै राष्ट्र बैंकका अनुसार त्यो मापदण्ड भन्दा बाहिर गई कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई निगरानी राखी कारबाही गरिनेछ ।
सर्वसाधारणले बैंक मार्फत बिभिन्न प्रयोजनाको लागि ऋण लिने गर्दछन् । तर बैंक तथा वित्तीय संस्थासँगको मिलेमतोमा सर्वसाधारणले आफ्नो आम्दानी भन्दा बढि ऋण लिने गरेका छन् । त्यसैको अन्त्यका लागि यस्तो कडाई गरिएको राष्ट्र बैंकले जनाएको छ । ऋणीले आम्दानी भन्दा धेरै कर्जा लिने गरेकाले त्यसमा कर्जा जोखिम बढ्दै जान्छ । त्यसले गर्दा ऋणीको बास्तविक आम्दानी कति हो भन्ने कुराको यथेष्ठ आंकलन गर्न कठिन पर्दछ । त्यसैले कर्जाको जोखिमलाई अन्त्य गरि पुँजी बजारलाई समेत चुस्त दुरुस्त बनाउन यस्तो व्यबस्था गरिएको राष्ट्र बैंकको दावी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया