काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको सीमानामा देखिएको धुँवाको ठूलो मुस्लो आगलागीबाट हुनसक्ने आशंका गरिएको छ ।
बिहानैदेखि निकै ठूलो मुस्लोसहित बिच जंगलमा धुँवा देखेपछि स्थानीयले विमान दुर्घटनाको आशंकामा प्रहरीलाई खबर गरेका थिए । वृस्तित जानकारी लिन प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । द्रुतमार्ग निर्माणमा खटिएको सेनाको टोली पनि घटनास्थलतर्फ गइरहेको छ ।
मकवानगढी गाउँपालिकाको ७ र ८ को सिंकोडा बुढीचौरको बिचको सिमानामा पर्ने बतासे भन्ने डाँडोमा निकै ठूलो मुस्लो देखेका स्थानीय कुनै अप्रिय खबर भएको हो कि भनेर त्रसित बनेका थिए ।
बकैया गाउँपालिका १२ र मकवानपुरगढी गाउँपालिकाको सीमानामा आगोको मुस्लो देखिएको स्थानीय उद्धव हुमागाईले लोकपथलाई जानकारी दिए । बिहान ९ बजेतिर आगोको मुस्लो देखिएको बताइएको छ ।
आगो लागेको स्थान मानव बस्तीदेखि २ घण्टा टाढा छ । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय ठिंगन र चौघडा प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।
प्रहरी घटनास्थलमा पुगेपछि मात्र घटनाबारे बताउन सक्ने मकवानपुर प्रहरीले जनाएको छ । अचानक अनकन्टार जंगलबाट आगोको ठूलो मुस्लो देखिएपछि विमान दुर्घटना भएको आशंका गरिएको थियो ।
यद्यपी सबै विमान सम्पर्कमा रहेको जानकारी विमानस्थल स्रोतले गराएको छ । सबै विमान सम्पर्कमा रहेकोले जंगलमा लागेको डढेलोबाट निस्किएको धुँवा हुनसक्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया