काठमाडौं- २०५९ मंसिर १४ गते विवाह बन्धनमा बाँधिएका चर्चित गायक रामकृष्ण ढकाल र निलम शाहबीच सम्बन्धविच्छेद भएको छ । यो समाचार मिडियामार्फत थाहा पाएका आम नागरिक/ ढकालका शुभेच्छुकले निकै चासो र चिन्ता व्यक्त गरेका छन् । धेरै आश्चर्यचकित बनेका छन्। सबैको एउटै प्रश्न छ, ‘आखिर १७ वर्षको वैवाहिक जीवनमा उनीहरुले किन पूर्णविराम लगाउने निर्णय गरे त ? किन डिभोर्स भयो, उनीहरुको ?’
रामकृष्ण ढकालले समय नदिएपछि विवाद बढेको नीलमले लेखेकी छिन् ।
उनले अदालतमा दायर गरेको निवेदनमा विवाह भएपछि शुरुका केही समयसम्म हामीहरु बीचको दाम्पत्य सम्बन्ध सुमधुर नै रहेकोमा विपक्षी पति आफ्नो काममा प्राय सधैं नै व्यस्त रहने कारणले घर परिवारलाई उचित समय दिन सक्नुभएको थिएन। हामीहरुलाई केही समय दिनुस, पति तथा पिताको दायित्व पूरा गर्नुस् भनी बारम्बार भन्दा आफ्नो कार्य व्यस्तताले हामीहरुलाई उचित समय दिन सक्नु भएन। यसैकारणले हामीहरुको बीचमा मनमुटाव तथा सामान्य झै झगडा समेत हुन थाल्यो भनेर लेखेकी छिन् ।
निलमले श्रीमानलाई पटक पटक विदेश जान र उतै बस्न समेत दवाव दिएको तर ढकालले नमानेको अदालतमा बुझाएको निवेदनमा उल्लेख छ।
‘मैले हामीसँग विदेश जाउँ, त्यहाँ हामो भविष्य उज्वल छ भनी सम्झाउँदा उहाँले म नेपालमा नै केही गर्न चाहन्छु। मेरो पेशाको भविष्य पनि नेपाल मै छ भन्नुभयो, विवादको कारण उल्लेख गर्दै शाहले निवेदनमा लेखेकी छिन्।
बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह बीच सम्बन्ध विच्छेद भएको हो।
मंगलवारमात्र जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका ढकाल दम्पतीले बुधवार सम्बन्ध बिच्छेद गरेका हुन् ।
न्यायाधीश विदुर कोइरालाको इजलासले विच्छेदको निर्णय सुनाएको हो। हिजो निलमले दुवैको सहमतीमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन्।
उनीहरुकी छोरी रानी ढकाल आमा निलम शाहसँगै रहने सहमतिसहित उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन्। श्रीमतीले ढकालसँग अंश नलिने तथा छोरीलाई बाबाले बेलाबेलामा भेट्न दिने सहमती गरेकी छिन् ।
मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ।
गायक ढकाल पछिल्लो पुस्तालाई मनपर्ने गायकको रुपमा परिचित छन् । उनले गाएका सेन्टिमेन्टल गीतलाई धेरैले रुचाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया