तानसेन बसपार्कको स्वरूप फेरिँदै

बेझाड । चार महिनाअघिसम्म अस्तव्यस्त बनेको पाल्पाको तानसेन बसपार्कको स्वरूप अहिले फेरिएको छ । पाल्पाको सदरमुकाम तानसेन प्रवेश गर्ने नाकाका रूपमा तानसेन बसपार्क रहेको छ ।

यही बसपार्क भएर विभिन्न जिल्लामा सवारी साधन आवतजावत गर्छन् । यात्रु तथा पर्यटक, व्यवसायीले जथभावी रूपमा फोहर फालेर बसपार्कको स्वरुप नै अस्तव्यस्त बनेको थियो । अहिले भने तानसेन बसपार्क प्रवेश गर्ने यात्रु तथा पर्यटक यहाँको फेरिएको वातावरण देखेर दङ्ग पर्छन् ।

बसपार्कमा आउने यात्रु, पर्यटक तथा व्यवसायीले यत्रतत्र फाल्ने फोहरलाई बसपार्क सरसफाइ तथा व्यवस्थापन समितिले तानसेन नगरपालिकाले उपलब्ध गराएको डस्टबिनमा सङ्कलन गर्न थालिएको छ ।

डस्टबिनमा सङ्कलित फोहर निश्चित ठाउँमा व्यवस्थापनका लागि समितिले एक कर्मचारी नियुक्त गरी खटाएको छ । फोहरजन्य सामग्री थुप्रने बसपार्क अहिले सफा र सुन्दर बनेको छ ।

बसपार्क क्षेत्रका ९५ व्यापारीबाट मासिक १ सय उठाएर फोहरमैला व्यवस्थापन गरिँदै आएको बसपार्क सरसफाइ तथा व्यवस्थापन समितिका सचिव किरण चित्रकार बताउनुहुन्छ । “सदरमुकाम प्रवेश गर्ने नाकाका रूपमा रहेको बसपार्कमा जथाभावी फोहर फाल्दा पाल्पाकै सभ्यतामा प्रश्न उठ्ने, फोहरका कारण नराम्रो सन्देश जाने र मानव स्वास्थ्यमा समेत असर पारिरहेकाले अहिले फोहरमैला सरसफाइ अभियानमा छौँ”, उनले भने।

बसपार्कका व्यापारीको सक्रियतामा नियमित सरसफाइ अभियान थालिएपछि बसपार्कले मुहार फेरेको हो । चार महिनाअघिसम्म जथाभावीरूपमा फालिएको फोहरमैलाले अस्तव्यस्त बनेको तानसेन बसपार्कमा अहिले सरसफाइ अभियान चालिएपछि ‘फोहर गर्नुहुन्न’ भन्ने चेतनाको विकास हुन थालेको व्यापारी टीकाराम खनाल बताउछन्। “बसपार्क क्षेत्रमा पहिला जथाभावी फोहर यत्रतत्र फालिएको देखेपछि यात्रु, पर्यटकले पनि त्यही सिको गर्ने गर्थे भने अहिले नियमित सरसफाइ हुन थालेपछि यहाँ आउने यात्रु तथा पर्यटक पनि सतर्क रहन थालेका छन्”, खनालले भने ।

यहाँ आउने यात्रु तथा पर्यटक अथवा जो कसैले पनि पहिलोपटक फोहर फालेमा सम्झाउने गरेको र दोस्रोपटक अटेरी गरेर फोहर फालेमा जरिवाना लिने गरेको कर्मचारी रामबहादुर गन्धर्वले बताए।

तानसेन प्रवेश गर्ने पहिलो स्थान नै बसपार्क भएकाले यहाँ भित्रिने पर्यटक तथा यात्रुलाई राम्रो सन्देश प्रदान गर्न स्थानीय व्यापारी सरसफाइ अभियानमा लागेका हुन् । यात्रु तथा पर्यटकलाई मध्यनजर गर्दै बसपार्कमा सन्देशमूलक सूचना बजाउने गरिएको छ ।

तोकिएको स्थानमा फोहर फालौँ, सधैँ डस्टबिनको प्रयोग गरौँ, बसपार्कको क्षेत्र वरपर सधैँ सफा राखौँ, स्वच्छ रहौँ, सभ्य बनौँजस्ता सन्देश बजिरहेको हुन्छ ।

जथाभावी फोहर फालेमा वा गरेको पाइएमा रु ५०० देखि एक लाख ५० हजारसम्म जरिवाना लिनेसमेत सन्देशमा जनाइएको छ । ‘सफा टोल सफा शहर, सबै तानसेनवासीको रहर’ भन्ने नारालाई साकार पार्न र नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य पूरा गर्ने सङ्कल्पका साथ यहाँका स्थानीय व्यापारी, बजारवासी, समिति तथा सरोकारवाला यस अभियानमा जुटेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?