काठमाडौं । अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उनकै भएको पुष्टि भएको छ ।
काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए ।
पीडित महिलाले रेकर्ड टेलिफोन संवादमा गिरीले मुद्दा फिर्ता लिन दबाब दिएका थिए तर उनले त्यो अडियो आफ्नो नभएको दावी गर्दै आएका थिए । प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबाकै भएको पुष्टि गरेको हो ।
उक्त अडियोमा गिरीले करिब एक घण्टा २० मिनेट फोन गरी मुद्दा फिर्ता लिन भनेका थिए । फोन सम्पर्कमा मुद्दा फिर्ता लिए आफू लिङ्ग काट्न तयार रहेको बताएका गिरीले अडियो सार्वजनिकपछि रेकर्ड आफ्नो नभएको दाबी गरेका थिए ।
महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपलब्ध गराएको रिपोर्ट प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा सिद्धबाबाको ७७ प्रतिशत आवाज म्याच भएको छ ।
कानूनमा सामान्यतया ५० प्रतिशत आवाज म्याच हुँदा प्रमाण मान्न सकिन्छ । प्रहरीले मुद्दा अनुसन्धानपछि आवाज मिलेको रिपोर्ट सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरेको छ । कार्यालयले सो मुद्दाको मिसिल अध्ययन गरिरहेको छ ।
सरकारी वकिलको कार्यालयले आजै मिसिल बुझाएर सिद्धबाबालाई अदालतमा हाजिर गराउने तयारी गरेको छ ।
सिद्धबाबालाई मंसिर १६ गते पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया