लोकतन्त्रलाई जनप्रतिनिधमूलक विधिको शासन प्रणालीको रुपमा विकसित गर्दा मात्र वास्तविक र सार्थक लोकतन्त्र कहलाईन्छ । चुनाव गर्दैमा लोकतन्त्र भईहाल्ने होइन । खुंखार तानाशाह पनि निर्वाचनबाटै सत्तामा पुग्छन् । शासनमा बसेका व्यक्तिहरू प्रणाली बलियो बनाउनुको सट्टा आफैँ बलियो बन्ने अभ्यास गर्न थाले भने बुझे हुन्छ, त्यो अभ्यास नै अधिनायकवादको लाक्षणिक रुप हो ।
राज्यका कानुनलाई सबैले शिरमा राख्नुपर्छ, हातमा लिन पाईदैन । तर सत्ताधारीहरुमा कानुन हातमा लिनखोज्ने सर्वसत्तावादी नियत र चरित्र जगजाहेर भईसकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको दिशा देखाएर गुणात्मक रुपमा बहुदलीय पञ्चायत बनाउने अभ्यास भईरहेको छ । कानुनहरू लोकतन्त्रलाई प्रणाली बनाउने खालका निर्मित हुनुपर्ने हो, तर पञ्चायततिरै फर्किन थालेको भान पार्दैछ । अत्यन्त अनौठा र उदेकलाग्दा तमासा देखिने नाट््यमंच जस्तो भइरहेको छ नेपाली राजनीति, जहाँ नियम र नैतिकतालाई गोली मारेर खेलिएका क्रुर तमासा लगातार देखा परिरहन्छन् ।
नेपाली राजनीति यस्तो फुटबल खेलरूपी ‘चलखेल’ भएको छ जहाँ अम्पाएर वा दर्शक (विदेशी) लाई मन लाग्यो भने उनीहरूले पनि फुटबल हानिदिए हुन्छ । प्रचण्ड दुईपटक नेपालका प्रधानमन्त्री भएका पहिलो कम्युनिष्ट नेता, जो नयाँ नेपाल बनाउन शान्तिपूर्ण खुला राजनीतिमा आएको दाबी गर्थे, उनी र अन्य गैरकम्युनिष्ट प्रधानमन्त्रीहरूको कार्यशैलीमा कुनै भिन्नता देखिएन । बरु राज्य विघटनको बितण्डालाई भित्रै पसेर चर्काउने षड्यन्त्रका औजार भए । ‘असफल राज्य’ भन्नु पनि राज्यको एउटा हैसियत र अस्तित्व नै हो, जुन अस्तित्वमा राज्य ब्यवस्थाको सामथ्र्यको मात्र मापन भएको हुन्छ, तर राज्य बिघटन त राज्यको समाप्ती नै हो । मुलुक जोगाउने शक्ति जनता उठेनन् भने स्वाधीन नेपालको मानचित्र बिलाउने भयावह स्थिति कालापानी वा सुस्ताजस्ता भूभागहरूबाट भित्रै आइसकेको छ । त्यसैले नेपालको वर्तमान अवस्था अत्यन्त कठिन तथा अभुतपूर्व सङ्कटबाट गुज्रिरहेको छ ।
प्रजातन्त्रलाई लोकतन्त्रले खायो, लोकतन्त्रलाई गणतन्त्रले खाँदैछ र गणतन्त्रलाई धर्मनिरपेक्षताले खाईरहेको छ । ‘लोकतन्त्र’को रक्षाकवच भिरेर राष्ट्रियतामाथि प्रहार भइरहेको छ । सत्तामा हावी भइरहेको राजनीतिले नेपालको गौरवमय अतित र इतिहासलाई उपेक्षा गरिरहेको छ । जब राष्ट्रिय शक्तिका रुपमा रहेका दलहरूले न्यूनतम सहमति र सहकार्यको नीति त्यागेर मूल्य मान्यताबिहिन सत्तामुखी राजनीतिमा मात्र ध्यान दिन थाले, त्यसले संकटलाई अझ घनीभूत बनाएको छ । राष्ट्रिय शक्तिका वीच एकता विपरित जब शत्रुतापूर्ण अन्तर्विरोधको बाटो लिइयो, त्यसले राष्ट्रको मियो–शक्ति त मास्यो, राष्ट्रिय शक्तिका वीच शत्रुता, वितण्डा र विग्रहलाई निरन्तरता दिइरह्यो, त्यसका अरू रुप र आयाम प्रकट हुँदै गए । राष्ट्रिय एकता विनाको लोकतन्त्रले धेरै प्रकारका जोखिम बोकेको हुन्छ भन्ने धरातलीय यथार्थको उदाहरण नेपाल आफैँ हुनपुगेको छ । कार्यपालिका (मन्त्रिपरिषद) र संवैधानिक अंगहरूबीच सामन्जस्यपूर्ण सम्बन्ध हुनुपर्नेमा हाल देखा पर्दैगएको क्याबिनेटको सर्वसत्तावादी कार्यशैली बहुदलीय पञ्चायतको लाक्षणिक विशेषता हो, लोकतान्त्रिक गणतन्त्रको रुप किमार्थ होईन ।
लोकतन्त्र नै प्रतिरक्षात्मक अवस्थामा पुगेको र प्रतिक्रान्तिका संवाहकहरूको मनोबल दिनानुदिन घनीभूत हुँदैगएको परिप्रेक्षमा नेपाली काँग्रेसजस्तो लोकतन्त्रका लागि लडेको, भिडेको र मरिमेटेको पार्टीले आफ्नो अगुवा भूमिका देखाउनु पर्ने हो, तर काँग्रेस यतिबेला सत्ताका गल्ती र समाजबाट उठ्ने निर्मला पन्त बलात्कार÷हत्या प्रकरण वा रवि लामिछाने पक्राउ वा ज्ञानेन्द्र शाहीको भाषणबाट उठेका तरङ्ग र पशुपति शर्माले गाईदिएको गीतले सत्ताको शेखी झारिदिएकोले ताली पिटेर सघाउने काम मात्र भएको छ । यस्तो अवस्थामा पनि काँग्रेस आफैँभित्रको किचलो, गिद्दे झम्टाझम्टी र अर्को जंगबहादुर जन्माउने कसरतमा लीन रहेको छ ।
राजनीतिक कारणले सिङ्गो मुलुक आज कुहिराको काग झैँ भएको छ । तानातानको राजनीतिमा निर्लज्ज रूपले सरिक राजनीतिका खेलाडीहरूले मुलुकलाई अनिर्णयको बन्धक बनाएका छन् । पुरानो नेपालको राष्ट्रवाद र देशभक्तिलाई सुगौलीको सन्धीले दबाएपछि २००७ सालमा पलाएको देशभक्तिको नयाँ संस्करणलाई औपनिवेशी शासनको स्कूलिङ्मा हुर्केको भारतीय सत्ताले पचाउन नसकेको कुरा बीपी कोइरालाले ‘आत्मबृत्तान्त’ मा आपूm प्रधानमन्त्री भएको बेला भारतको भ्रमणमा गएको र लालकिलामा भएको नागरिक अभिनन्दनमा प्रत्युत्तर भाषणमा आफूले भन्नै परेको कुरा उल्लेख गर्नुभएको छ, “देशभक्त नेपालीमा र देशभक्त भारतीयमा कहीँ फाटो छैन । कहीँ पनि द्वन्द्व छैन । तर तपाईँहरूमध्ये कति हुनुहुन्छ देशभक्त, तपाईँ आफ्नो हृदयमा हात राखेर भन्नुस् ।……तपाईँहरूमध्ये देशभक्ति नभएका मानिसहरू नै मेरा समस्या हुन्…..” (आत्मबृत्तान्त, पृ. २४१) । त्यो निर्भिकता, आँट र विवेक आजका नेताहरुमा किन हरायो ?
पछिल्लो कालखण्ड (२०७२ बैशाख) मा नेपालको धर्ती नराम्रोसँग हल्लिएको थियो । तर संसारभरि रहेबसेका नेपाली मुटुहरू आजसम्म हल्लिरहेका छन् । सो भूकम्पका असरको अवधि अझै सकिएको छैन, त्यसलाई तुलनाको आधार वर्षका रुपमा हामी लिने गर्छौँ । त्यसले एउटा अवसर छोडेर गएको थियो पुनर्निर्माणको, त्यो अवसरको सदुपयोग गर्न नसक्नु, गर्न नचाहनु हाम्रो अयोग्यता र गल्ती हो । भूकम्पले दिएको कठोर पाठले पनि हामीलाई युद्धस्तरमा काम गर्न घच्घच्याएन, यथास्थितिवादी र आँखामा छारो हाल्ने खालको भ्रष्ट र काईते शैलीमा नै काम गर्न अभ्यस्त बनायो । बिडम्बना !
निर्वाचनका बेला पार्टीहरुले घोषणापत्र जारी गर्दै नेपाली जनताका घरमा सूनको छाना हालिदिने खालको आश्वासन बाँडे । तर टहरामा बसिरहेका भूकम्प पीडितहरुलाई आप्mनै स्थायी घरमा सार्ने भरोसायोग्य प्रतिबद्धता, जिम्मेवारी र संवेदनशीलता यी घोषणापत्रहरुमा देख्न पाइएन । नारा र आश्वासन छन् । तर नारा र गीतमा कर्मको कटिबद्धता वा निष्ठा हुँदैन । भूकम्पपीडित जनताका लागि यी घोषणापत्रहरु दुईपैसे उत्ताउला गीतजस्ता मात्र हुनपुगे । किनभने आजसम्म पनि कतिपय नेपालीहरू पाल (टहरा) मै गुजारा गरिरहेका छन्, पालबाट मुक्त नभएको नेपाल !
मैले राणा शासनको तारिफ गर्न वा जुद्ध शम्शेरको प्रभावमा परेर प्रतिक्रिया दिएको अर्थ नलागोस्— ९० सालको महाभूकम्पका बेला पीडितहरूलाई सरकारले दिएको ऋण ४ वर्षपछि मिनाहा गरेको घोषणामा जुद्ध शम्शेरले भनेका रहेछन्, “सर्कार र दुनियाँको सम्बन्ध बाबुछोराको जस्तै हो, त्यतिमात्र होइन, शरीरमा साना ठूला हरेक अंगप्रत्यंग बेग्लाबेग्लै रहेको छ तापनि ती सबै मिली एक शरीर एक ज्यान बनेको छ ।….अर्थात् राज्यका अंगप्रत्यांग प्रजाहरू र उत्तमांग सर्कार बनिरहेका छन् । ती सबै मिली एक शरीर एक ज्यू भएको हुन्छ । सर्कारलाई परेको सुखदुःखमा प्रजाले र प्रजालाई परेको सुखदुःखमा सर्कारले सहानुभूति देखाई सहयोग गर्नु स्वाभाविक हुनुपन्र्यै कुरा हो ।”
जहाँनिया शासन प्रथाका एक उन्मादी तानाशाहले पनि दुःखको बेलामा यति करुणा देखाउन सक्छ भने लोकतन्त्रको नाममा गठन भएको सरकारले जनताका आधारभूत आवश्यकताका लागि किन न्यूनतम सुविधा पनि दिन नसकेको ? राष्ट्रियताको सवालमा लोकतन्त्रलाई गौण ठान्ने र लोकतन्त्रका नाममा राष्ट्रियतालाई उपेक्षा गर्ने दुवै प्रवृत्तिको अनुत्पादक बहसमा राजनीतिमा लागेकाहरू जति उत्साही भएर लागिपर्छन्, तर सम्पूर्ण जनतालाई सिटामोल जुटाईदिने सामथ्र्य पनि देखाउन सक्दैनन् । राजनीतिक परिवर्तन धेरै भयो, तर प्रवृत्ति र मानसिकता पञ्चायतकालीन नै रह्यो । वास्तवमा शासकीय मनोवृत्ति राणाकालीन असहिष्णु तथा आक्रामक सामन्ती शैलीबाट उठ्नै सकेन, लोकतान्त्रिक गणतन्त्ररुपी पोशाक बाँदरलाई लगाईदिएको सुट जतिमात्र भयो । – चन्द्रमणि गौतम
यसअघि लोकपथ डटकममा प्रकाशित लेखक गौतमका यी आलेख छुटाउनुभएको थियो कि ?
. सत्ताधारी र प्रतिपक्षको ‘डबल स्ट्याण्डर्ड प्रवृति’, साना दलको आफ्नै दाउ
2. गोर्खाली नभए कसरी चल्छ भारतीय सेना ? भारतीय पत्रकारले जे देखे
3. वायु प्रदुषणको असर : सखाप हुँदैछ हाम्रो पर्यावरण, एक सनसनीपूर्ण खुलासा !
4. के कांग्रेसले दिशा गुमाएकै हो ?
5. चर्चित नेपालीहरुको रोचक साइनो : को कसको के नाता पर्छ ?
6. निर्जीव हुँदै संविधानका काला अक्षर, कसले भर्ने प्राण ?
7. राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग किसुनजीका ऐतिहासिक संवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया