काठमाडौं | भनिन्छ, महिला पुरुष एक रथको दुई पाङ्ग्रा हुन् । एक बिना अर्को चल्दैन । तर यो भनाइ केवल भनाइमै सिमित छ भन्दा फरक पर्दैन । किनभने यहाँ अझै महिला र पुरुषमा ठुलो विभेद छ । पुरुष र महिला बीचको समानतालाई ग्रेट वाल झैँ अग्लो पर्खालले बार लगाइएको छ । त्यसैले त हामी बारम्बार सुन्दै आइरहेका छौँ महिला हिंसाका कुरा । नेपालमा मात्र होइन विश्वकै कतिपय विकसित देशहरुमा पनि महिला हिंसा हुने गर्छन् । २१ शताब्दीमा आइपुग्दा पनि अझै कताकता सुनिन्छ छोरी मान्छेले पढ्नु हुँदैन, अगाडी बढ्नु हुँदैन । नेपाल पितृसत्तात्मक देश हो । यहाँ अझैपनि महिलाप्रति हेर्ने दृष्टिकोण निकै नै संकीर्ण छ । यहाँ परम्परागत सोचमा अझै पनि परिवर्तन हुन सकेको छैन । महिलाले दाईजो नल्याएका कारण यातना सहनुपर्ने, बोक्सीको आरोप लगाएर घर निकाला गरिने, बालविवाह, बहुबिवाह, देहव्यापार, गरीबी, बेरोजगारी, मानसिक यातना, गालीगलौज, जवरजस्ती करणी, बैवाहिक बलात्कार, बहुविवाह, चेलीबेटी बेचविखन र ओसारपसार, यौन शोषण, अत्याधिक काम, यौन दुरूत्साहन, यौन शोषणलगायतका हिंसाबाट अझै पछि हट्न सकेको छैन नेपाल । राज्यको संरचनाले नै महिलाहरूको सही र न्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छैन । पुरूष प्रधान मानसिकताले गर्दा महिला नेतृत्व अगाडी आउन सकिरहेको छैन ।
रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिनु, समान अवसरबाट वञ्चित गराइने प्रवृत्तिले नेपालमा महिला हिंसाले डरलाग्दो रुप लिएको छ । यो घट्नुको साटो झन् बढिरहेको छ ।
ओरेक नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार श्रावण २०७५ देखि असार २०७६ सम्मको समय अवधिमा १ हजार ३ सय १९ वटा हिंसाका घटनाहरू छन् ।
यी घटनामध्ये सबैभन्दा बढी हिंसाका घटनाहरू प्रदेश नम्बर १ मा भएको छ । प्रदेश नम्बर १ मा ४९४ वटा हिंसाका घटना भएको छ त्यसैगरी प्रदेश नम्बर २ मा ३ सय ९९ वटा महिला हिंसाका घटना भएको छ भने प्रदेश नम्बर ५ मा २ सय १५ जना महिलामाथि हिंसा भएको देखिन्छ ।
त्यस्तै प्रदेश नम्बर ७ बाट १०१, प्रदेश नम्बर ३ बाट ७६, प्रदेश नम्बर ६ बाट ३२ र प्रदेश नम्बर ४ बाट २ जना महिलामाथि भएका विभिन्न प्रकारका हिंसा भएको ओरेक नेपालले उल्लेख गरेको छ ।
जसमा सबैभन्दा बढी महिलाहरू घरेलु हिंसाबाट प्रभावित भएको पाइएको छ । प्राप्त तथ्याङ्कका आधारमा यस वर्ष सबैभन्दा बढी ६६.७२ प्रतिशत (८ सय ८० जना) महिलामाथि घरेलु हिंसा भएको छ । महिलाहरूमाथि हिंसा गर्नेहरूमध्ये सबैभन्दा बढी आफ्नै श्रीमान् र घरपरिवारका सदस्यहरू हुने गरेको ओरेक नेपालद्वारा सार्वजनिक तथ्याकंले देखाएको छ ।
घरेलु हिंसापछि सबैभन्दा बढी महिलामाथि सामाजिक हिंसा भएको पाइएको छ । ११.९८ प्रतिशत (१५८ जना) महिला सामाजिक हिंसाबाट पीडित छन् । त्यसैगरी १०.८४ प्रतिशत (१४३ जना) महिलामाथि बलात्कार र १.३६ प्रतिशत (१८ जना) महिलामाथि बलात्कारको प्रयास भएको तथ्यांकले उल्लेख गरेको छ । त्यस्तै अन्य प्रकारका हिंसाहरु जस्तै यौनिक हिंसा, हत्या, बेचबिखन लगायतबाट पनि महिलाहरु पिडित भएका छन् ।
जसमध्ये सबैभन्दा बढी १७–२५ वर्ष उमेर समूहका महिला हिंसामा परेका छन् । यस उमेर समूहका महिलाहरूले कुल हिंसा प्रभावितहरूमध्ये ३६ प्रतिशत हिंसा भएको पाइएको छ । यस्तै गरी २६–३५ वर्ष उमेर समूहमा ३२ प्रतिशत, ३६–४५ वर्ष उमेर समूहमा १४ प्रतिशत, १६ वर्षभन्दा कम उमेरका १२ प्रतिशत, ४६–५५ वर्ष उमेर समूहका महिलामा ४ प्रतिशत र ५६ वर्षभन्दा बढी उमेर समूहका महिलाहरूमा २ प्रतिशत महिला कुनै न कुनै प्रकारको हिंसा भएको पाइएको छ ।
अधिकांश महिलाहरु कुनै न कुनै माध्यमबाट हिंसामा पर्ने गरेका छन् । के घर, के कार्यालय जहाँ पनि महिलामाथि कुनै न कुनै तवरबाट हिंसा भैरहेको छ । घरमा घरायसी काम, अनि कार्यालयमा महिलाले पाउने काम र तलबमा महिला र पुरुषबीच विभेद भइरहेकै हुन्छ ।
महिला हिंसा अन्त्य गर्न भन्दै विभिन्न संस्थाहरु स्थापित छन् । तरपनि महिला हिंसामा कमी आउन सकेको छैन । महिला सशक्तिकरणका आवाजहरु नगुञ्जिएका होइनन् तर पनि महिला हिंसामा कमि हुन सकेको छैन । अशिक्षा र जनचेतनाको कमीले गर्दा आजको यो युगमा पनि महिलाहरु हिंसा सहेर बस्न बाध्य छन् । डर, धम्कीको घेराबाट बाहिरीन सकेका छैनन् । कतिपय महिलाहरु आफूमाथि भएको हिंसाको प्रतिकार गर्न सकिरहेका छैनन् । जसले गर्दा पनि महिला हिंसामा कमी आउन नसकेको हो ।
धेरैजसो हिंसा आफ्नैबाट हुने भएकोले पनि महिलाहरु त्यसलाई भित्र भित्रै दबाएर राख्छन् । हिंसा खुलाउँदा झनै पीडामा परिने र न्याय नपाउने डरले उनीहरु न्यायको ढोका ढकढकाउँदैनन् । कतिपय महिलाहरु त उजुरी कहाँ दिने भन्ने थाहा नभएरै हिंसा भोगिरहेका हुन्छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा १४ हजार ७ सय ७४ घरेलु हिंसा भएका छन् भने २ हजार २ सय ३० जना महिला तथा किशोरी बलात्कृत भएका छन् । त्यसैगरी २ सय ५८ महिला तथा बालबालिका बेचबिखनमा परेका छन् भने ८६ बालबालिकाको बालबिबाह भएको छ । त्यस्तै ७ सय ८६ महिला तथा बालिकामाथि बलात्कार प्रयास भएको छ ।
नेपालको संविधान (२०७२) भाग–३ मा उल्लेख गरिएको मौलिक हकको धारा ३८ मा महिलाको हक र धारा ३९ मा बालबालिकाको हकको बारेमा स्पष्ट उल्लेख गरिएको छ ।
तर महिला तथा बालबालिका अझै पनि असुरक्षित छन् । आफ्नो सुरक्षाकै लागि संघर्ष गर्दै छन् । कानुन फितलो बन्दा नेपालमा बलात्कार र यौन जन्य हिंसाले बिकराल रुप लिएको छ ।
आफूलाई महिला तथा बालबालिका अधिकारकर्मी हूँ भनेर चिनाउने महिला तथा बालबालिका अधिकार कर्मीहरु मात्र बाल दिवस र नारी दिवसमा पाँचतारे होटलमा भाषण गर्छन् । अनि डलरको खेति गर्नमै व्यस्त छन् । उनीहरुले पाँचतारे होटलमा गरेका चर्का भाषणहरु अझै त्यो विकट र दुरदराजका बस्तीहरुमा गुञ्जयमान हुन सकेको छैन । जहाँ महिलाहरु बोक्सीको नाममा कुटिन्छन् । दाइजोको नाममा कुटिन्छन् अनि प्रेमको नामको एसिडले जलिरहेछन् त्यो ठाउँसम्म पाँचतारे होटलका भाषण पुगेकै छैन ।
नाबालिकादेखि ७०८० वर्षीय वृद्दा हजुरआमा समेत बलात्कृत !
नाबालिकादेखि ७०/८० वर्षीय वृद्दा हजुरआमा समेत बलात्कार अनि यौनजन्य हिंसाबाट ग्रसित छन् । यौनजन्य दुर्व्यवहार गर्नेहरुमा अधिकांस आफ्नै घर भित्रका रहेका छन् । यौनजन्य दुर्व्यहारको प्रमुख निशानामा अधिकांस नाबालिका, बालिका र किशोरीहरु नै पर्ने गरेका छन् ।
त्यसैगरी शारीरिक अशक्तता बालिका, युवती तथा महिलाहरु पनि बलात्कारीको प्रमुख निसानामा परेका छन् । पछिल्लो समय मुलुकभर जबरजस्ती करणीका घटना बढेका छन् । विगत ६ वर्ष यताको तथ्यांक हेर्ने हो भने नेपालमा बलात्कारको घटना दोब्बरले बढेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार २०७० र २०७१ मा ९ सय १२ वटा घटना भएको थियो । त्यसैगरी २०७१/७२ मा ९ सय ८१, २०७२/७३ मा १ हजार ८९, २०७३/७४ मा १ हजार १ सय ३१ र २०७४/७५ मा १ हजार ४ सय ८० घटना भएको देखिन्छ भने त्यो संख्या दोब्बर बढेर २०७५/७६ सम्म आइपुग्दा २ हजार २ सय ३० पुगेको छ ।
७७ वटै जिल्लामध्ये सबैभन्दा बढी घटना काठमाडौंमै भएको छ । त्यसपछि झापामा धेरै घटना भएको प्रहरी तथ्यांकले देखाउँछ । त्यसपछि सुनसरी, मोरङ र कैलालीमा धेरै घटना भएको तथ्यांक छ ।
किन दिनानुदिन बढ्दै छ बलात्कारका घटना ?
पछिल्लो समय नेपालमा आपराधिक गतिविधिहरु बढ्दै गइरहेको । अपराधिक घटना बढ्नुको जनसंख्या वृद्धि, बेरोजगारी, फितलो कान”नर शहरीकरण आदि हुन् । शिक्षाको कमी चेतनाको कममी आत्मनिर्भर नह’न’ यसबाहेक राजनीतिक तहबाटै दण्डहीनतालाई प्रोत्साहन गर्ने गरी भइरहेका क्रियाकलापले समाजमा यस्ता जघन्य अपराध भइरहेका छन् ।
नेपालमा बलात्कारको घटना दिनहुँ बढ्नुको अर्को कारण पितृसत्तात्मक सोच पनि हो । हाम्रो समाजले पुरुषप्रधानतालाई काखी च्यापेको छ । छोरीले अघि बढ्नु हुँदैन भन्ने सोच हाम्रो समाजबाट अझै हट्न सकेको छैन् ।
नियम कानून कडा बनाउन सके महिला हिंसाको अन्य हुन्छ । सबैभन्दा पहिले महिलाहरुलाई शिक्षित बनाउनुपर्छ । महिला हिंसा के हो भन्नेबारे महिलालाई बुझाउन सके, दूरदराजका बस्तीहरुमा महिला सशक्तिकरणका आवाजलाई पुर्याउन सके हिंसामा कमि आउँछ ।
यो पनि,
दोब्बरले बढ्यो बलात्कार : बुबाले छोड्दैनन् छोरी, मामा घरमा पनि उस्तै, दबाबमा लुकाइए हजारौँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया