काठमाडौं । बाह्य बिज्ञापनका लागि सहरका राखिएका होर्डिङ् बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदुषण हुने प्रचार सामाग्री हटाउने कामलाई महानगरले तीब्रता दिएको छ । यसै क्रममा शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिनुभयो । काठमाडौं धार्मिक, सांस्कृतिक र पर्यटकीय सहर हो । यसको मौलिकता बचाउनु महानगरको जिम्मेवारी हो । हामी बिगतदेखि नै यस प्रकारका बोर्डको नियमन गर्दै थियौं, उहाँले थप्दै भन्नुभयो — नेपाल पर्यटन बर्ष २०२० लाई लक्षित गरेर अहिले नियमन कार्यलाई तीब्र बनाएका हौं । महानगरले २०७० सालमा जारी गरेको बिज्ञापन सामाग्री नियमन गर्ने कार्यबिधिलाई पूर्ण कार्यान्वयन गर्ने हाम्रो अभियान हो, सापकोटाले सहरी सौन्दर्यीकरणमा महानगरले गरिरहेको कामका बारेमा जानकारी दिँदै भन्नुभयो — भित्तेलेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, व्यानरलगायत सहरलाई कुरुप बनाउने सबै सामाग्री हटाउँदैछौं ।
हिजो (पुष १० बिहीबार) गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा सरोकारवाला निकायका अधिकारीबीच सहरी सुन्दरता कायम गर्ने काममा सघाउ पु¥याउन सबै पक्षलाई आग्रह गरिएको थियो । यसप्रकारका प्रचार सामाग्रीसँगै अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केवल तथा इन्टरनेट सेवा प्रदायकका तार हटाउन सार्वजनिक सूचना जारी गर्ने बैठकले निर्णय गरेको छ । तोकिएको समयभित्र तार नहटाए सरकार आफैंले तार हटाउनेछ ।
बैठकमा गृहमन्त्री थापाले भन्नुभयो — सर्वोच्च अदालतले यस प्रकारका प्रदुषण हटाउन यस अघि नै आदेश दिइसकेको छ । अहिले हामी पर्यटन बर्षको संघारमा छौं । सहरलाई सुन्दर बनाउन र कुरुपताबाट बचाउन अब ढिलाई गर्नुहुँदैन । त्यस अवसरमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — महानगरले सहरी सुन्दरता कायम गर्ने कामलाई नियमित गरेको जानकारी दिँदै यसलाई तीब्र बनाइने बताउनुभएको थियो ।
सहरलाई सुन्दर बनाउन होर्डिङ् बोर्ड मात्र व्यवस्थापन गरेर पुग्दैन, भित्तेलेखन, पर्चा, पोष्टर, पम्प्लेट सबै हटाउनु पर्छ, सहरी दृश्य प्रदुषणहटाउन परामादेशको माग गर्दै सर्वोच्च जानुभएका अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्नुहुन्छ — महानगरको रेकर्ड भएका प्रचार सामाग्रीलाई बिधिअनुसार व्यवस्थापन गर्नुपर्छ, अभिलेखमा नआएका बिजुलीको पोल, भित्ता तथा अन्य सार्वजनिक ठाउँ वा सार्वजनिक ठाउँबाट देखिने ठाउँका सबै प्रकारका प्रचार सामाग्री हटाउनुपर्छ ।
महानगरले सहर कुरुप बनाउने १० व्यक्ति र संस्थालाई ५८ हजार जरिवाना समेत तिराएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया