ओली निष्क्रिय प्रचण्ड सक्रिय : हैसियत बराबरी, यस्ता छन् अन्तरपार्टी निर्देशन

एमसीसीबारे के भयो कुरो ?

काठमाडौँ । पछिल्लो समय स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको दिन बालुवाटारमै आराम गरेर बित्ने गरेको छ । पार्टी र सरकारका महत्वपूर्ण कामहरु बालुवाटारबाटै सञ्चालन गर्छन् ओली । अति महत्वपूर्णबाहेक सार्वजनिक कार्यक्रममा समेत ननिस्कने गरेका ओलीले कतिपय कार्यक्रमहरु त बालुवाटारमै बोलाएर काम चलाइरहेका छन् ।

शनिबारमात्रै पनि प्रधानमन्त्री ओलीले पार्टी निकट पत्रकारको संस्था प्रेस संगठन नेपालको राष्ट्रिय भेला र सपथ कार्यक्रम समेत बालुवाटारमा राखे । सरकारी निवासमा पार्टीको कार्यक्रम राखेको भन्दै कतिपय अवस्थामा आलोचना समेत खेप्दै आएका ओलीले यसलाई खासै महत्व दिएको पाइदैन । हुन त पार्टी कार्यालय छाडेर पार्टीको बैठकसमेत बालुवाटारमा राखेको भन्दै यसअघि नै पार्टीका जिम्मेवार नेताले समेत प्रश्न उठाएका थिए ।

केही पहिलेमात्रै पार्टीको कार्यकारी अध्यक्षको भूमिका अर्का अध्यक्ष प्रचण्डलाई दिएपछि ओली पार्टी गतिविधिमा उति सक्रिय छैनन् । उनको आवश्यक हुने ठाउँमा बालुवाटारमै बोलाउँछन् र निर्णय गराउँछन् । तर प्रचण्डले भने बैठक पार्टी कार्यालयमा बोलाउने गरेका छन् ।

पछिल्लो पटक बसेको पार्टी स्थायी कमिटि बैठकमा पनि ओलीको सहभागीता रहेन । सो बैठकपछि नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन–३ मा स्वास्थ्यकाकारण ओली बैठकमा सहभागी हुन नसकेको उल्लेख गरिएको छ ।
निर्देशनको सुरुमै भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा), स्थायी कमिटीको चौथो बैठक यही २०७६ मङ्सिर २९ गते आरम्भ भएर पुस ६ गते सफलतापूर्वक सम्पन्न भएको छ । अध्यक्ष कमरेड केपी शर्मा ओली एपेन्डीसाईटिसको अप्रेशनपश्चात् स्वास्थ्यलाभको क्रममा रहनुभएको हुनाले बैठकमा उपस्थित हुन सक्नुभएन । यस बैठकको अध्यक्षता अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो । तेस्रो बैठक सम्पन्न भएको एकबर्ष पछि आयोजित यस बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल–भारत सीमा समस्या, केन्द्रीय कमिटीको बैठक आयोजना जस्ता महत्वपूर्ण कार्यसूचीमा गहन छलफल भएको छ । बैठकका महत्वपूर्ण निर्णयहरु जानकारी एवं कार्यान्वयनका लागि यो अन्तरपार्टी निर्देशन – ३ जारी गरिएको छ ।’

यस्तै ओलीको स्वास्थ्य लाभको कामना गर्दै बैठकले एक विशेष प्रस्ताव पनि पारित गरेको छ । प्रस्तावमा भनिएको छ, ‘बैठकले सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामनासहितको विशेष प्रस्ताव पारित गरेको छ र उहाँ छिटो पूर्ण स्वस्थ भई नियमित पार्टी एवं सरकारको काममा सक्रिय हुनुहुने विश्वास व्यक्त गरेको छ ।’

प्रचण्ड सक्रिय !
ओलीको स्वास्थ्यमा समस्या रहेपनि ओली पार्टीमा निष्क्रिय जस्तै छन् । यस्तै कार्यकारी हैसियतमा रहेका प्रचण्ड भने पार्टीमा सक्रिय देखिन्छन् । प्रचण्डले नेता तथा कार्यकर्ताहरुसँगको छलफललाई तीव्रता दिएका छन् ।

पार्टी शीर्ष नेताहरुसँग छलफलपछि पार्टीको स्थायी समिति सम्पन्न गरिसकेका प्रचण्डले केन्द्रीय समिति बैठक पनि बोलाइसकेका छन् ।

अन्तरपार्टी निर्देशनमा दुबै अध्यक्षको हस्ताक्षर
यसअघि ओली उपचारको लागि सिंगापुर जाँदा प्रचण्डले एक अन्तरपार्टी सर्कुलर जारी गरेका थिए । जसमा ओलीको हस्ताक्षर थिएन । सो सर्कुलरमा आफ्नो हस्ताक्षर नभएपछि ओलीले असन्तुष्टि जनाउँदा फेरि ओलीको हस्ताक्षर थपेर नयाँ सर्कुलर जारी गरिएको थियो ।
यो पटक भने ओली निश्क्रिय जस्तै रहेपनि उनको हस्ताक्षर समावेश गरिएको छ । अर्थात अन्तरपार्टी निर्देशनमा दुबै अध्यक्ष ओली र प्रचण्डको हस्ताक्षर रहेको छ । नेकपाको झण्डै एक महिना अघि बसेको सचिवालय बैठकले ओली र प्रचण्डको वरियता समान हुने निर्णय गरेको थियो । तर ओलील त्यसमा असन्तुष्टि जनाएका थिए । उनले एक टेलिभिजन अन्र्तवार्तामा आफू नै सिनियर अध्यक्ष भएको बताएका थिए । तर निर्देशनमा बराबरीको हैसियतमा प्रस्तुत गरिएको एक नेताले बताए ।
के छ अन्तरपार्टी निर्देशनमा ?
पार्टी एकताको महत्व दर्शाउँदै यस ऐतिहासिक तथ्यलाई दह्रोसँग आत्मसात गर्दै सिंगो पार्टीपंक्ति र जनतालाई निरन्तर प्रशिक्षित गरिरहनु जरुरी रहेको औंल्याइएको छ । निर्देशनमा भनिएको छ, ‘शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धामार्फत् संविधानसम्मत वैधानिक र लोकतान्त्रिक तरिकाले सामाजिक न्यायसहित राष्ट्रिय पूँजीको विकास गर्दै जनताको जनवाद कार्यान्वयन गर्ने र समाजवादको आधार तयार पार्ने विषयमा रहेको आधारभूत वैचारिक समानता एवम् पार्टी नेतृत्वको समचित निर्णय र भूमिकासहित यो ऐतिहासिक एकता सम्भव भएको हो । एकताको यो ऐतिहासिक पहल र निर्णयलाई सिङ्गो पार्टीपंक्तिले उत्साहका साथ आत्मसात् गरेको तथा आमजनसमुदायले समेत निर्वाचनमार्फत अनुमोदन गरेको तथ्यले एकताको आवश्यकता र निर्णयको सहीपनालाई प्रमाणित गरेको छ ।’

चीन र भारतका बीचमा असल सम्बन्ध कायम गर्ने, पार्टी एकता प्रक्रियाका बाँकी काम आगामी १५ दिनभित्र सम्पन्न गर्ने, पार्टीको प्रकाशन, प्रचार र प्रशिक्षणलाई व्यवस्थित गर्ने, संस्थागत निर्णय, वैधानिक व्यवस्था र अनुशासनलाई कडाईका साथ कार्यान्वयन गर्ने, गुटबन्दी, घात–अन्तर्घात र अराजकताको प्रवृतिलाई परास्त गर्ने, आलोचना–आत्मालोचनालाई प्रोत्साहन गर्ने र पार्टीलाई सजीव र गतिशील तुल्याउने जस्ता निर्देशन पार्टीले गरेको छ ।
पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्नेगरी अनुशासन र पद्दतीविपरीत बोल्ने, लेख्ने, पार्टी नीतिविपरीत भेला, बैठक गर्ने काम बन्द गर्न पनि सर्कुलरमा निर्देशन दिइएको छ ।
यस्तै नेकपाले आफ्नै पार्टी कार्यालय निर्माण गर्नेपनि भएको छ ।

एमसीसीबारे अन्तरपार्टी निर्देशन
नेकपाले एमसीसीबारे पनि आधिकारिक धारणा सर्कुलर गरेको छ ।
जसमा भनिएको छ–इन्डोप्यासिफिक स्ट्राटेजी र एमसीसी अमेरिकी सरकारको एम.सी.सी. इन्डाप्यासिफिक स्ट्राटेजीको अधीनस्थ छ कि छैन ? र एम.सी. सी. अन्तर्गतको ५०० अमेरिकी डलर बराबरको अनुदान सहयोग नेपालले लिन हुन्छ वा हुँदैन ? भन्ने विषयमा बैठकमा गम्भीरतापूर्वक छलफल भयो । हालसम्म प्राप्त तथ्यहरुले एम.सी.सी. इन्डोप्यासिफिक स्ट्राटेजीको अधीनस्थ छैन भन्ने नै देखिएको छ । तथापि बैठकले समग्र पक्षलाई बुझेर उपयुक्त निर्णय गर्ने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।’
पुस २३ देखि केन्द्रीय कमिटी बैठक
नेकपाको केन्द्रीय कमिटीको बैठक यही पुस २३ गते काठमाडौँमा बस्ने भएको छ ।
उक्त बैठकमा तयारीका साथ सहभागी हुन केन्द्रीय कमिटीका सम्पूर्ण सदस्य एवं पदेन सदस्यलाई नेकपाले आह्वान गरेको छ । बैठकको कार्यसूची राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, राष्ट्रिय अभियानको योजना र समसामयिक प्रस्तावहरु रहेको नेकपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?