डान्स बारमा मदिरा पिएर हो–हल्ला गर्ने मेयर युवतीसहित पक्राउ, युवतीले नै बोलाएकी थिइन् प्रहरी !

काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामी एक डान्स बारबाट पक्राउ परेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित मेयर धामी कञ्चनपुरको महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट युवतीसहित पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार डान्स बारमा मदिरा पिएर हो–हल्ला गरेपछि मेयर धामीसहित केही व्यक्तिलाई पक्राउ गरिएको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मेयर धामीलाई पक्राउ गरेको हो ।

मेयर धामीसहित डान्स बारबाट केही युवतीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

डान्स बारमा काम गर्ने केही युवतीले आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीको टोली डान्स बार पुगेको थियो ।

प्रहरीले नियन्त्रणमा लिएपछि धामीले आफू जनप्रतिनिधि भएको भन्दै आफूलाई तत्काल रिहा गर्न प्रहरी कर्मचारीलाई नै चेतावनी दिएका थिए ।

आइतबार राति पक्राउ परेका धामी सोमबार बिहान नै रिहा भइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?