काठमाडौं । सरकार अधिनायकवादी दिशामा दुई कदम अघि बढेको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको प्रष्ट विमतिका बीच संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टि गरेको बताएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत् सरकारले नागरिकको ‘फोन ट्यापीङ’ समेत गर्न सक्ने अधिकार लिन चाहेर संविधान प्रदत्त व्यक्तिगत गोपनियताको अधिकार समेत हनन गर्ने दुस्साहस गरिरहेको छ ।’
सामाजिक सञ्जालमा कसैले कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेल बस्नुपर्ने, १५ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने जस्ता प्रावधान लोकतान्त्रिक राज्य व्यवस्थाको भावना र मर्म अनुरुप हुन नसक्ने प्रवक्ता शर्माको तर्क छ ।
विधेयकमा उल्लेख भए अनुरुप सामाजिक संञ्जालहरु दर्ता हुन आएनन् भने के सरकार फेसवुक, ट्वीटर र इन्स्टाग्राम जस्ता लोकप्रिय माध्यम बन्द गर्न चाहन्छ ? भन्ने प्रश्न गर्दै प्रवक्ता शर्माले हरेक नागरिकले सरकारलाई यो प्रश्न समयमै गर्नु पर्ने आवश्यकता रहेको बताए ।
उनले भने हामि समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई सोध्न चाहन्छौं के तपाई आफ्नो व्यक्तिगत फोन समेत सरकारले रेकर्ड गर्न पाउने कानून बनाउन दिने पक्षमा हुनुहुन्छ ? के तपाई सामाजिक सञ्जालमा कुनै सामान्य व्यंग्य कसैलाई गरे वापत ५ वर्ष जेल बस्न तयार हुनुहन्छ ?’ उनको प्रश्न थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया