‘यस्तो पापीलाई त जिउँदै आगोमा जलाउँदा पनि सजाय पुग्दैन,’ न्युजरुमको मौनता तोड्दै एकजना सहकर्मी साथी अचानक कड्किनुभयो ।
उहाँको यो रिस ३ वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने कञ्चनपुरका ३० वर्षीया इन्द्र चुनारामाथि खनिएको रहेछ ।
‘आफ्नै बाउले छोरीको बलात्कार ?’
‘बच्चीको उमेर ३ वर्ष रे ? हैट् !’
‘कञ्चनपुर प्रहरीलाई फोन लगाऔं’
घटनाको बारेमा थाहा पाएपछि सबैजनाबाट आआफ्नै किसिमको प्रतिक्रिया आयो । मेरा आँखा भने बच्चीको शवको तस्वीरमा गएर अल्झिए । सानी गुडियाजस्तै थिइ ऊ । गहिरो निन्द्रामा भएजस्तै लाग्ने ।
‘कलिलो मुनाजस्तै छोरीलाई बलात्कार गर्ने कस्तो खालको बाउ(?) हो त्यो ?’ बारम्बार यही प्रश्न मनमा खेलिरह्यो ।
‘मान्छेले आफू मान्छे भएको कुरा भुलेको हो र ?’ पहिलो प्रश्नसँगै अर्को प्रश्न जोडिएर आयो ।
त्यसो त ‘न्युजरुम’ अत्यन्तै संवेदनशील स्थान हो । हरेक सूचना तथा घटना शुरुमा यहीँ आएर ठोक्किन्छन्, समाचार बन्छन् अनि मात्रै अन्य ठाउँमा छरिन्छन् । त्यसैले, एक किसिमको दबाव हुन्छ न्युजरुमलाई, विश्वसनीय समाचार ‘छिटो’ सम्प्रेषण गर्ने । यही दबावका कारण कहिलेकाहीँ घटनाको गहिराइ र वजनलाई मनले तौलन नपाइ समाचार ‘टाइप’ गरिन्छन् । छापिन्छन् । आफूले लेखेको समाचार कतिपटक पढियो र कतिजनाले शेयर गरे भन्ने ध्याउन्नमा समाचार लेखनको धर्मबाट ध्यान बहकिसकेको हुन्छ । पत्रकारलाई पत्तो हुँदैन ।
यति हुँदाहुँदै पनि कहिलेकाहीँ त्यस्ता घटना हुन्छन् जसले पत्रकारलाई ‘पत्रकार’ होइन ‘मान्छे’ बनेर सोच्न बाध्य बनाउँछन् । यही पुष १४ गते भएको उक्त बलात्कारको घटना पनि तिनैमध्ये एक थियो मेरा लागि ।
अहिले सन् २०२० को दैलोमै पुगेर २०१९ लाई फर्केर हेर्दा म त्यस्ता कैयौं घटना देख्छु जुन ‘समाचार’ मात्र बनेनन्, सामाजिक छलफलको मुद्दा बने । जसले मानवीय मूल्य मान्यतामाथि प्रश्न उठाए, हाम्रो संस्कार र प्रवृत्तिको धज्जी उडाए । ती सबै घटना नहुन सक्थे यदि मान्छेले मान्छे भएर निर्णय लिएको भए । र, त्यो काम गरिसकेपछि त्यसले निम्त्याउने थप समस्याका बारेमा २ सेकेण्ड ‘होल्ड’ भएर सोचिदिएको भए । आखिर घटना मानव मस्तिष्कका उपज न हुन् ।
घटनाकै कुरा गर्दा यस वर्ष थुप्रै एसिड आक्रमणहरु भए । स्कुल जाँदै गरेकी मुस्कान खातुन होस् या श्रीमान् भेट्न गएकी जेनी खड्का, उनीहरु एसिड आक्रमणमा पर्नु कुनै ठूलो अपराधिक गिरोहको षड्यन्त्र वा लामो समयदेखि रच्दै आएको प्रपञ्चको नतिजा थिएन । एकोहोरो मायामा परेको प्रेमी र धोकेवाज श्रीमान्को क्षणिक क्रोध र बदलाको भाव थियो ।
त्यस्तै क्षणिक उत्तेजना र राक्षसी प्रवृत्ति हावी भएर नै घट्ने गरेका छन्, बलात्कार र जबरजस्तीकरणीका घटना । यो मेरो ठहर होइन । रिपोर्टिङका क्रममा म जेजति मनोविश्लेषक र मनोविदहरुसम्म पुगें सबैले यही भने कि, ‘कुनै पनि व्यक्तिमा शुरुदेखि नै बलात्कारी बन्छु भन्ने सोच हुँदैन’। मनोविद करुणा कुँवरले त प्रष्टै भन्नु पनि भएको थियो, ‘उत्तेजनामा आएपछि बलात्कार गर्न तम्सिएको मान्छेले न युवतीको उमेर हेर्छ न त नाता !’
कतिपय अपराधिक क्रियाकलापहरु त केही सेकेण्डको गलत निर्णयले गर्दा भइरहेका हुन्छन् । घटना हुनु र नहुनुबीच ‘स्वविवेक’को एउटा सानो धर्सा हुन्छ । त्यो धर्सालाई मानिसले संयमता र समझदारीमार्फत् जोगाउन सक्छ । तर, अक्सर मानिस त्यसलाई जोगाउनबाट चुक्छ ।
त्यसैको नतिजा हो काम, क्रोध, लोभ, मोहबाट टाढिएका ‘सिद्धबाबा’ भनिएका साधुहरु बारम्बार यौन दुव्र्यवहारको काण्डमा मुछिनु, सानोतिनो घरझगडाको विषयमा आफ्नै श्रीमतीको विभत्स हत्या गर्नु, लापरवाहीका कारण हुने सवारी दुर्घटना, मृत्युको शैयामा लडिरहेको शवको वरिपरि दजर्नौं क्यामेरा र यस्तै यस्तै ।
एउटा सानो दृश्यको कल्पना गरौं ।
मान्नुस् तपाई कहीँ टाढा जानुपर्नेछ र, तपाईको बस १० बजे बस बिसौनीबाट छुट्नेवाला छ । तर, तपाई ढिलो उठ्नुभयो र हतार हतार तयार भएर बस बिसौनी पुग्दा निकै ढिलो भइसकेको थियो । बस तपाईकै लागि मात्रै कुरेर बसेको थियो । बिसौनीबाट ढिलो हिँडेकाले गन्तव्यमा पुग्न गाडी छिटो कुदाउनुपर्ने भयो । ड्राइभरले गाडी ‘उडाइरहँदा’ पनि सबै यात्रु चुपचाप बसे किनकी सबैलाई सधैं हतार नै हुन्छ । रात्रीकालीन समयमा पनि गाडी चलाएकाले ऊ अनिदो थियो । गाडी तीव्र गतिमा चलाएकाले र ड्राइभरलाई निन्द्रले सताएकाले गाडी अनियन्त्रित भएर दुर्घटना भयो ।
यस दृश्यमा सामेल हरेक व्यक्तिले आफ्नो ‘भूमिका’ मात्रै सही तरिकाले निभाएको भए गाडी दुर्घटना नहुने थियो कि ?
सबैले आआफ्नो काम इमान्दारितापूर्वक गर्ने हो भने पनि निकै दुर्घटनाहरु हुनबाट रोक्न सकिन्छ ।
चिकित्सकले आफ्नो ‘धर्म’मा उभिएर उपचार गर्नुप-यो । घरायसी समस्या र कामलाई मिसाउनुभएन । पैसा बटुल्न १० वटा क्लिनिक धाउनुभएन ।
सवारी चालकले हतार गर्नुभएन, सवारी चलाउँदा मादक पदार्थ सेवन गर्नुभएन, आफ्नो हात्केलामा सयौंको ज्यान बोकेर हिँडेको छु भन्ने कुरा बुझ्नुप¥यो ।
पत्रकारले पार्टीको कार्यकर्ता होइन ‘अर्को निगरानी गर्ने दल’ को भूमिका निभाउनुप-यो । मानव संवेदनाको सम्मान गर्न जान्नुप-यो । पाठक÷दर्शकलाई भ्रामक समाचार दिएर ‘मिसलिड’ गर्नुभएन । आफू निहीत स्वार्थ बोकेका व्यक्तिबाट ‘मिसगाइडेड’ हुनुभएन ।
यसरी कर्मचारी, नेता, कार्यकर्ता, व्यवसायी, गृहिणी हरेकको आआफ्नै धर्म हुन्छ । त्यही धर्मको धरातलमा टेकेर कदम बढाउनुप-यो ।
आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन यो नयाँ वर्ष गरिने संकल्पको सूचीमा एउटा यो पनि संकल्प थपौं जसमा हरेक मानिसले कुनै काम गर्नुअघि २ सेकेण्ड रोकिएर सोचोस् ‘के म सही गर्दैछु ?’ ।
लोकपथका थप समाचार पढ्नुभएको थियो ?
उदाउँदो सूर्यसँगै नयाँ वर्षमा गर्नुहोस् १२ नयाँ संकल्प
तपाई किन बोल्नुहुन्न ? कम्तीमा केही विषयमा यो वर्षदेखि बोल्न थाल्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया