मस्कोको गल्लीमा डुल्ने लाइकालाई यसरी पठाइयो अन्तरिक्षमा (फोटोसहित)

अन्तरिक्षमा पुग्ने पहिलो जीवित प्राणी ‘लाइका’ हो । लाइकालाई सामान्य कुकुरभन्दा निकै आदरले हेर्ने कारण पनि त्यही नै हो । मस्कोको गल्लीमा डुल्ने लाइका कुकुरलाई तालिम दिएर सोभियत अन्तरिक्ष वैज्ञानिकहरुले प्रयोगको क्रममा अन्तरिक्षमा पठाएका थिए ।

मानवसहित रकेट अन्तरिक्ष पठाउँदा हुनसक्ने दुर्घटनाको बारेमा पुर्व जानकारी नभएकाले प्रतिकूल अवस्था बुझ्नका लागि रसियाले कुनै जनावरलाई अन्तरिक्षमा पठाउने निर्णय लिएको थियो ।  अन्तरिक्षमा पठाउन गल्लीमा घुमिरहेको लाइका कुकुरलाई छानियो । लाइका छानिनुको कारण लाइका अरु कुकुर भन्दा निकै शान्त स्वभाव, सिधा तथा आकर्षक थियो । त्यसपछि उसलाई समातेर तालिम दिन शुरु गरियो । लाइकालाई हालेर पठाउने यानको नाम ‘स्पुतनिक २’ यान थियो । विभिन्न कठिन तालिमपश्चात् लाइका अन्तरिक्षमा जानको लागि तयार गरियो ।

स्पुतनिक यानको डिजाइन एउटा कुकुर मात्र अट्ने आकारको थियो । यानमा अक्सिजन, एउटा कार्बनडाईअक्साइड अब्जर्बर र, चिसो बनाउनको लागि पंखा, कुकुरको खाना राख्ने भाँडो तथा फोहोरलाई राख्ने सानो झोला मात्र रहेको थियो । कुकुरलाई राख्नको लागि सानो क्याबिनको डिजाइन गरिएको थियो । जसमा दायाँबायाँसमेत गर्न सकिँदैन थियो ।

३ नोभेम्बर १९५७ मा स्पुतनिक यानले अन्तरिक्षका लागि उडान भर्यो । प्राविधिक गडबडीका कारण रकेटको केही अंश स्पुतानिक–२ बाट अलग हुन सकेन । जसका कारण क्याबिनको तापक्रम वृद्धि भयो ।

क्याबिनमै रहेको तापक्रमका कारण करिब ५ घण्टा पछि लाईकाको दुःखद् अन्त्य भयो । उसको मृत्यु भएको १६२ दिनसम्म स्पुतानिक–२ यान अन्तरिक्षमा घुमी रह्यो र २ हजार ५ सयपटक पृथ्वीको परिक्रमा लगायो । त्यसपछि १४ अप्रिल १९५८ मा लाइकाको मृत शरीरसँगै पृथ्वीको वायुमण्डलमा प्रवेश गरी जलेर खरानी भयो ।

सन् २००८ मा रसियाका अधिकारीले लाइकाको सम्मानमा उनीलाई तालिम दिएको स्थानमा एउटा सानो स्मारक बनायो । उक्त स्मारकमा एक रकेटको माथि लाइकालाई राखिएको छ ।

(एजेन्सीको सहयोगमा)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?