एटीएमबाट दैनिक १ लाख रुपैयाँसम्म झिक्न पाइने !

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुरुप अब ग्राहकले बैंकहरूको एटीएमबाट प्रतिदिन अधिकतम १ लाख र प्रतिकारोबार २५ हजार रुपैयाँ झिक्न पाउने भएका छन् । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको जनाएको हो ।

गत भदौमा एटीएम ह्याक गरी चोरी भएपछि नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने सीमा घटाएर प्रतिदिन ६० हजार र प्रतिकारोबार २० हजार रुपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेको थियो ।

त्यस्तै, अब केन्द्रीय बैंकले बैंक खाताबाट वालेटमा रकमान्तर हुने रकम प्रतिकरोबार ५ हजारबाट २५ हजार पुर्‍याइएको छ । त्यस्तै, बैंक खाताबाट एकपटकमा २५ हजार रुपैयासम्म मोबाइलमा ट्रान्सफर गर्न सकिनेछ भने दैनिक १ लाख रुपैयाँसम्म र मासिक ५ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।

त्यस्तै एक वालेटबाट अर्को वालेटमा तथा एक वालेटबाट अर्को बैंक खातामा प्रतिदिन २५ हजारसम्म र मासिक ५० हजार रुपैयाँसम्म ट्रान्सफर गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटबाट गरिने कारोबारमा पनि नयाँ व्यवस्था ल्याएको छ । जसअनुसार क्यूआर कोडसहितको मोबाइल बैंकिङमा दैनिक ५० हजार रुपैयाँ र मासिक २ लाख रुपैयाँ कारोबार गर्न पाइनेछ । इन्टरनेट बैंकिङअन्तर्गत मर्चेन्ट पेमेन्टमा दैनिक १० लाख र मासिक ३० लाख कारोबार गर्न पाइनेछ ।

एटीएम बुथमा चिनियाँ ह्याकरबाट आक्रमण भएपछि परिपत्र जारी गर्दै राष्ट्र बैंकले प्रत्येक बुथमा सुरक्षाकर्मी राख्नसमेत निर्देशन दिएको थियो । तर, अहिले उक्त एकीकृत निर्देशनमा यो व्यवस्थालाई हटाएकाले बैंकले यसलाई कार्यान्वयन गर्नु नपर्ने भएको छ । बैंकहरूले सीसी टिभीबाट निगरानी बढाउने भएकाले पनि सुरक्षा गार्डको व्यवस्था हटाएको राष्ट्रबैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?