राष्ट्रियसभाको उमेद्वार किन बनेनन् बामदेव, यस्तो छ दाउ !

काठमाडौं । नेकपाले राष्ट्रियसभाको निर्वाचनको टुङ्गो लगाएको छ । आज विहान बसेको सचिवालय बैठकले आफ्नो पार्टीबाट उमेद्वार चयन गरेको छ ।

तर, राष्ट्रियसभाको निर्वाचनमा नारायणकाजी श्रेष्ठ उमेद्वारर बन्दा बामदेब गौतम भने उमेद्वार बनेका छैनन् । २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचन गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्ति पार्टीका उमेद्वार बाबुराम भट्टराईसँग पराजित भएका नारायणकाजी राष्ट्रिय सभाको उम्मेद्वार बनेका छन् ।

बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका नेकपा सचिवालय सदस्य वामदेव गौतमले भने राष्ट्रियसभा उम्मेदवार बन्न इच्छा नदेखाएको नेकपाका एक नेताले बताएका छन् ।

बिहीबारको सचिवालय बैठकमा वामदेवले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बन्ने ढोका खोलिदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठक वामदेवको यही प्रस्तावका कारण बैठक स्थगित भएको थियो।

दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वामदेवलाई राष्ट्रिय सभामा बिनाशर्त लैजान तयार भएका थिए ।

अध्यक्षद्वयले राष्ट्रियसभामा पठाउन वामदेव र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १६ जनाको नाम पनि प्रस्ताव गरिसकेका थिए।

तर वामदेवले संविधान संशोधन गरेर आफूलाई प्रधानमन्त्री बन्‍ने बाटो खोलिदिने भए मात्र आफु उम्मेद्वार बन्ने बताएका थिए ।

तर, राष्ट्रियसभाका सांसद प्रधानमन्त्री बन्न नपाउने संवैधानिक प्रावधान छैन ।

उनले यसअघि पटक–पटक उपनिर्वाचनबाट सांसद बन्ने चाहना राखेपनि माहोल प्रतिकूल हुँदा पछि हटेका थिए ।

उनी डोल्पा र काठमाडौं क्षेत्रनम्बर ७ बाट उपनिर्वाचन लड्ने तयारीमा रहेको भएपनि माहोल प्रतिकूल बनेको थियो । यसो त कास्की क्षेत्र नम्बर २ बाट समेत उनले चुनाव लड्ने चाहना राखेपनि त्यो पूरा हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?