महोत्तरी । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा अहिले क्षमताभन्दा चार गुणाभन्दा बढी कैदीबन्दी भएपछि विभिन्न समस्या उत्पन्न भएको छ ।
जलेश्वर कारागारका का.मु.जेलर मकसुदन महासेठका अनुसार जलेश्वर कारागारको कैदीबन्दी राख्ने क्षमता मात्रै १३५ जना रहेकामा जलेश्वर कारागारमा अहिले ४८५ पुरुष, ४३ महिला र चार आश्रित बालबालिका गरी ५३२ जना कैदीबन्दी पुगेकाले कारागारमा समस्या उत्पन्न भएको छ । उनका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँड्डुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमण जस्ता समस्याहरु उत्पन्न भएको छ ।
कारागारका चौकीदार (मुख्य कैदी) रमेश सिंहका अनुसार अहिले कैदीबन्दीलाई ठाउँको अभावमा सुत्नका लागि प्रतिव्यक्ति मात्रै १४ इन्च जग्गा दिइने गरिएको र त्यतिले पनि नअटाएपछि कोठाहरुमा आवतजावत गर्ने बाटोमा समेत पालैपालो सुताउने गरेको र त्यसले पनि नअटाएपछि अहिले छतमाथि पाल टाँगेर पनि कैदीबन्दीलाई राख्नुपरेको छ ।
उनले क्षमताभन्दा बढी चापकै कारण कैदीबन्दीलाई र अन्य सबैथोक अभावमै चलाउनु परेको बताए । मूल नाइकेका रुपमा त्यस कारागारमा कर्तव्य ज्यान मुद्दामा रहेका कैदी चन्द्रदीप यादवले अत्यधिक चापका कारण कैदीबन्दीले अहिले खाना पकाउन, खान, सुत्न, शौचालय र नुहाउनका लागि पालैपालो समय पाउने गरेको बताए ।
सोही कारागारमा कर्तव्य ज्यान मुद्दाकै विनोद पञ्जियारले खानेपानीका लागि कल र धारामा पालैपालो समय पाउने गरेको बाहिर बस्न, हिँड्डुल गर्न पनि कैदीबन्दीलाई पालैपालो समय दिने गरिएको बताए । त्यहाँका कैदीबन्दी अहिले धनुषा, महोत्तरी, सर्लाहीका साथै विभिन्न अदालत, जिल्ला प्रशासन र न्यायिक निकायका आदेशानुसार कैदीबन्दीको चाप अत्यधिक भएको र बढ्ने क्रम अझै जारी रहेको कारण कारागारभित्र खान, बस्न, सुत्न, खानेपानी, शौचालयको समस्याका साथै विभिन्न रोगको पनि सङ्क्रमण देखिएको बताउँछन् ।
उनहरुका अनुसार तराईको चिसो स्याँठ र कठ्याङ्ग्रिँदो जाडोका बीच कारागारमा कैदीबन्दीको अत्यधिक चापकै कारण दिनहुँ कैदीबन्दी बिरामी भएर जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागिसमेत जाने गरेका छन् । दिनानुदिन बढ्दै गरेको कैदीबन्दीको चापलाई नियन्त्रण गर्न यस कारागारबाट केही कैदीबन्दीलाई अन्य कारागारमा सरुवा गरिदिन र यस कारागारमा अब थप कैदीबन्दी नपठाइदिन सम्बन्धित निकायलाई पत्राचार गरेको कारागार कार्यालयका का.मु.जेलर महासेठले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया