काठ्माडौं । जमिनमा कसरी र कस्तो प्रक्रियागत विधि एंव साइतमा के कस्तो खालको गृहनिर्माण गर्नाले जीवनमा सुख र समृद्धि प्राप्त हुन्छ भन्ने विषयमा साङ्गोपाङ्गो अध्ययन र विश्लेषण गर्ने विधा नै वास्तुशास्त्र हो ।
घरपरिवार, छरछिमेक एवं गाँउ र वस्तीको सुख, शान्ति, समृद्धि र निरन्तरताको लागि वास्तुशास्त्रीय मूल्य र मान्यता अनुसार जमिनको छनौट गर्ने, शुभ फलदायक जमिनमा शुभ साइतमा शिलान्यास गर्ने, भवन वा संयुक्तावसको द्वारन्यास विधिपुर्वक गर्ने, भवनको दिशा, कोण, परिसर र झुकाव मिल्छ कि मिल्दैन भनेर योग्य वास्तुविद्सँग समन्वय राखि निरीक्षण गर्ने गराउने, आन्तरिक गृहव्यवस्थापन र साजसज्जा ठीक छ की छैन भनी बेलैमा सतर्कतापूर्वक अवलोकन गर्ने र गृहनिर्माण कार्य पूर्णतः सम्पन्न भइसकेपछि विधिपूर्वक गृहशुद्धि एवं गृहवास्तु यज्ञ गरी गृहप्रवेस गर्ने आदि प्रक्रिया अन्यन्त प्राचीन एवं आर्यसभ्यताको महत्पपूर्ण पक्ष हो । नेपालमा प्रचलित वास्तु परम्परा पनि यस्तै उपपुक्त केही वास्तुशास्त्रसँग सम्बन्धित लोकोक्तिहरु यहाँ उल्लेख गरिएको छ ।
गह्रा मिलाउनु , वास्तु मिलाउनु ः घर बनाउने जग्गा भिरालो छ, जमीनमा झाडी बुट्यान छ अथवा जमीन मिलेको छैन भने त्यस्तो जमीनलाई राम्रोसँग सम्याउनु पर्छ वा धरै टुक्रा वास्तुमा परिणत गरी मिलाउनुपर्छ । त्यसै छोड्नु हुँदैन । चिया बगान, खेलमैदान, सभागृह, पार्टी प्यालेस, कृषि फर्म र सामान्य खेती गर्ने जग्गामा पनि यो नियम लागु हुन्छ ।
पूर्व ढलान परेको घडेरी राम्रो, पश्चिममा उचाई बढेको घर राम्रो ।
सुत्ने पलङ पहिले मिलाउने अनि पछि मात्रै घर सजाउनु पर्दछ ।
बुहारी कुना पसे वंशलाई राम्रो, घर कुना पसे अंसलाई राम्रो (तर घरको कुना चाँहि दक्षिणपश्चिम तर्फ पसेको वा बनेको हुनुपर्दछ ) ।
भुँइतले घरमा बस्नेले पूजाकोठा मिलाउनु पर्दछ । धेरैतले घरमा बस्नेले कौसी मिलाउनु पर्दछ । धेरैवटा घरमा बस्नेले भान्सा मिलाउनु पर्दछ । सबै खाले घरमा भर्याङ मिलाउनु पर्दछ ।
वास्तुशास्त्रको बारेमा आगामी अंकहरुमा हामी जानकारी गराउँदै जानैछौँ ।
ज्यो. दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया