सवारीसाधनमा सायरी लेख्न नपाईने, चप्पल लगाएर सवारी हाँके कारवाही हुने !

काठमाडौं  – हैट राजा भन्या राजा हो ! ना ७ ख १६०२ नम्बरको सवारीमा लेखिएको एक वाक्य हो यो । सवारी साहित्य अर्थात् सवारी साधनका बाहिर लेखिने साहित्यका स–साना ‘डोज’ ।

यस्ता साहित्यिक डोजले हरेक दिन हाम्रो यात्रालाई रमाइलो बनाइरहेका हुन्छन् । पट्यारलाग्दो जाममा परेका बेला आफ्ना अघिपछि भएका सवारी साधनमा लेखिएका यस्ता कुराहरु बसिबियाँलोकोे राम्रो माध्यम पनि बन्ने गरेको छ । तर हामीले ठ्टटा र मनोरञ्जनको रुपमा मात्रै हेरेको यो विषयले गम्भिर दुर्घटना निम्त्याएको भन्दै यी यस्ता साहित्यहरु सवारीसाधनबाट हटाईने भएको छ । सवारी साधनका पछाडि लेखिएका यस्ता सामग्री अब मेटिनेछ र नयाँ सवारीले पुरानो सवारी साधनको सिको गरेमा कारबाही हुनेछ ।


पहिलेपहिले ट्रकमा मात्रै देखिने देश, प्रकृति, आमासम्बन्धि , माया, प्रेम जस्ता मनोरञ्जनात्मक विषयका सायरी आजकल टेम्पो, मान्छे बोक्ने सवारी साधनहरुमा पनि देख्न सकिन्छ । लेखिने ठाउँ मात्र नभएर लेखिने कुराहरु पनि समयसँगै रुपान्तरित हुँदै आएका छन् । त्यतिमात्रै होईन कतिपय अवस्थामा यी सामाग्री अश्लिल, अपाच्य तथा कानूनसम्मत देखिँदैन ।

यातायात व्यवस्था विभागले सवारी साधनले वर्षौंदेखि लेख्दै आइरहेका यस्ता सामग्रीहरू हटाउन लागेको हो । त्यसैगरी, विभागले अघिल्लो भागको सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न भनेको छ ।

‘सवारीको पछाडि लेखिएका लामा–लामा सामग्रीले चालकको ध्यान भंग गर्ने तथा दुर्घटना निम्त्याएको पाइएपछि ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवालासँग छलफल गरेर हटाउने निर्णय भएको छ ।

यस्ता सवारीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ ।

विभागले अब सवारी चालकले चप्पल लगाएर सवारी चलाउन नपाइने नियम ल्याएको छ ।

 

यसैगरी चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका समाग्री पनि राख्न निषेध गरिएको छ ।
म्युजिक सिस्टम पनि क्याबिनमा नराख्न भनिएको छ ।

लामो दूरीका सवारीले ढोकामै यात्रु संख्या र बसको क्षमता लेखेर टाँस्नु पर्ने नियम पनि ल्याइएको छ । यसैगरी चालकको व्यक्तिगत विवरण खुल्ने गरी सवारीभित्र फोटो सहितको जानकारी टाँस्न पनि निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?