काठमाडौं । ज्योति विकास बैंकले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले पौष २१ गते सोमबार काठमाडौं महानगरपालिका २६ स्थित गोंगबुमा नयाँ शाखाको उद्घाटन गरेको हो ।
नयाँ शाखाको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले गरेकी हुन् । उक्त कार्यक्रममा महानगरपालिकाको वडा नं २६ का वडाध्यक्ष खेम तिवारी, बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली लगायतले सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै उपमेयर खड्गीले बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरि अघि बढ्न महानगरपालिका ईच्छुक रहेको जानकारी दिइन् । साथै आगामी दिनमा बैंकले आफ्नो सञ्जाल विस्तार गरि ७७ वटै जिल्लामा नै बैंकिङ सेवा पुर्याउने विश्वास रहेको समेत बताएकी छन् ।
त्यस्तै अध्यक्ष खड्काले विगतका दिनहरु झै बैंकले सेवाग्राही तथा समाजको माग अनुसार ल्याइएको सेवा तथा सुविधाहरुलाई निरन्तरता दिँदै अझ सरल र सहज रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
साथै बैंकका सीईओ ज्ञवालीले नयाँ शाखामार्फत बैंकिङ सेवा थप विस्तार भएकाे र जनतालाई बैंकको पहुँच अझ सहज भएको बताएका छन् । बैैंकको नयाँ शाखा उद्घाटन समारोहमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहकहरु साथै स्थानिय व्यवसायीहरुको समेत उपस्थिती रहेको थियो ।
हाल ज्योति विकास बैंकको देशभर १०२ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीयम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । साथै यहि आर्थिक वर्षमा थप नयाँ शाखा तथा अन्य २५ स्थानमा एटीयम सेवा सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको समेत बैंकले जनाएको छ । त्यस्तै हालसम्म बैंकले २ लाख ४० हजार भन्दा बढि खाताबाट ३२ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजार ऋणीलाई २७ अर्बभन्दा बढि लगानी गर्न सफल भएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया