भारतको नेहरु विश्वविद्यालयमा भएको हिंसाका सम्बन्धमा घाइतेसहित १९ जनाविरुद्ध मुद्दा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा भएको हिंसाका सम्बन्धमा घाइतेसहित १९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार जेएनयु छात्र संघका अध्यक्ष आइशी घोषसमेत १९ जनाविरुद्ध मुद्दा दर्ता भए पनि कसैको गिरफ्तारी भएको छैन ।

यसैबीच हिन्दु रक्षा दलले हमलाको जिम्मेवारी लिएको छ । सो दलका तर्फबाट पिंकी चौधरीले हमलाको जिम्मेवारी लिएको बताइन्छ ।

हिंसाको छानविनका लागि दिल्ली प्रहरीको क्राइम ब्रान्चको टिम जेएनयु पुगेको छ । यस्तै, अर्थशास्त्री तथा जेएनयुका प्रोफेसर सीपी चन्द्रशेखरले विश्वविद्यालयमा विकसित परिस्थितिका कारण आर्थिक तथ्यांकको समीक्षा गर्ने सरकारी कमिटीबाट राजीनामा दिएका छन् ।

प्रहरीका अनुसार आइतबार भएको घटनाका सम्बन्धमा एउटा उजुरी दर्ता भएको छ ।

आइतबार उक्त विश्वविद्यालयमा अनुहार छोपेर प्रवेश गरेको एक समूहले विद्यार्थी तथा शिक्षकमाथि हमला गरेको थियो । उक्त समूहले होस्टेलमा तोडफोडसमेत गरेको थियो ।

करिब अढाइ घण्टासम्म उक्त समूहले विश्वविद्यालय परिसरमा आतंक मच्चाएको थियो ।

यस क्रममा छात्र संघका अध्यक्ष आइशी घोषसमेत कयौं घाइते भएका छन् । समाचार एजेन्सीहरुका अनुसार ३५ जनाभन्दा बढी घाइते भएका छन् । तीमध्ये २३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?