स्वस्थानी व्रत लिनु भएको छ ? थाहा पाउनुहोस् यसको महत्व

काठमाडौं । वैदिक सत्य सनातन धर्मावलम्वीहरुद्वारा परापूर्व कालदेखि मनाउँदै आएको पर्वमध्ये एक महत्वपुर्ण पर्व हो श्री स्वस्थानी व्रतकथा । विशेषगरी श्री स्वस्थानी व्रतकथा विवाहित महिलाहरुले आफ्नो पतिको सु स्वास्थ्य र दीर्घायु तथा अविवाहित महिलाहले आफ्नो हुनेवाला पति राम्रो होस भन्ने कामनाले देवीको प्रार्थनास्वरुप व्रत बस्ने गर्छन् ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमाको एक महिनासम्म श्री स्वस्थानीदेवीको व्रत बस्ने गरिन्छ । उक्त अवधि भर भक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी स्वस्थानीको कथा सुन्ने र सुनाउने प्रचलन छ ।

स्वस्थानी कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाएर एक महिनासम्म श्री स्वस्थानीको व्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा भएपछि श्री स्वस्थानी व्रतकथा मनाउन शुरु गरिएको हो ।

स्वस्थानी शव्द “स्व” र “स्थान” शव्दमा “ई” प्रत्यय लागेर बनेको छ । जसको अर्थ आफैँ नजिकको स्थान वा आफ्नै घर वरपर रहेकी देवी भन्ने बुझिन्छ । स्वस्थानीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त हुने र मृत्युपछि कैलाश लोकमा वास हुने विश्वास गरिन्छ । यस पर्वमा महिलाहरु विहानै उठेर स्नान गरी प्रत्येक दिन मध्यान्हमा महादेवको पूजा गर्दछन् ।

स्वस्थानीको कथाभित्र आउने लगभग सबै तीर्थस्थलहरु विशेषगरी काठमाडौं भित्रै रहेका छन् । गुह्वेश्वरी, गोकर्ण, श्लेषमान्तक वन, किरांतेश्वरमहादेव, गौरीघाट, वाग्मती नदी, शालीनदीजस्ता क्षेत्रहरु स्वस्थानीको कथामा उल्लेख गरिएको छ ।

३१ भागमा विभाजन गरिएको स्वस्थानी व्रतकथाका केहि कथाहरु स्कन्दपुराणबाट निकालिएको छ । त्यसैले प्रत्येक अध्यायको अन्त्यमा इति श्रीस्कन्दपुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्ये श्रीस्वस्थानी व्रताकथायाम भन्ने गरिन्छ ।

स्वस्थानी व्रतकथा पहिला नेवारी भाषामा लेखिएको र लगभग पाँच सय वर्षयता मात्र नेपाली भाषामा अनुवाद गरिएको उल्लेख पाइन्छ । उक्त व्रत पहिला नेवार समुदायले मनाउने गरेको पनि उल्लेख छ ।

निरन्तर प्रयास र लगनशीलताले नै सफलता हात पार्न सकिन्छ भन्ने नै श्री स्वस्थानी व्रतकाथाको आशय रहेको छ । साथै आफ्नो लक्ष्यमा पुग्नलाई अनावरत रुपमा खटिरहनुपर्छ भन्ने कुरा सिकाउन खोजिएको छ ।

कुनै पनि चिजको प्राप्तिका लागि कठोर संघर्ष र तपस्या गरेमात्र ससफलता प्राप्त हुने श्रीस्वस्थानीबाट पाठ सिक्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?