१ सय २२ चिनियाँलाई देश निकाला गरिँदै, चीनबाट दुईवटा चार्टर जहाज आउँदै

काठमाडौं । नेपालमा बसेर शंकास्पद गतिविधिका संलग्न रहेको १ सय २२ चिनियाँ नागरिकलाई आज निष्काशन गरिदै छ । उनीहरुलाई गत पुस ७ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । नेपालमा पनि अवैध रूपमा हजारौं चिनियाँ बसेको थाहा पाएपछि चीनले उनीहरूविरुद्ध अपरेसन गर्न नेपालका सुरक्षा अधिकारीलाई आग्रह गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई गृह मन्त्रालयले चार वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ। उनीहरू सबैलाई कालोसूचीमा राखिएको छ। अध्यागमन विभागले उनीहरुलाई चारवर्ष प्रवेशमा रोक लगाउदै निक्ष्कासन गर्ने निर्णय गरेको हो ।

उनीहरुलाई आज साँझ चीन पठाउने तयारी भएको विभागले जनाएको छ । हिरासतमा रहेका ती चिनियाँलाई बुधबार अपरान्ह प्रहरी र अध्यामगनका कर्मचारीको रोहवरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पु¥याइनेछ। चीन सरकारले उनीहरूलाई फिर्ता लैजान दुइटा चार्टर जहाज पठाउँदै छ। सीजेड ३००२ उडान नम्बर भएको चाइना साउदर्न विमानबाट ८० जना जाँदै छन्। बाँकी ४२ जनालाई एमयू ७१७६ उडान नम्बरको चाइना वेस्टर्नको विमानबाट फिर्ता लगिँदै छ।

चिनियाँ दूतावासले उनीहरूको हवाई टिकट र उडान विवरण विभागलाई बुझाएको छ। दूतावासले १ सय २२ जनै आफ्ना नागरिकको राहदानी रद्द गरेको छ। अध्यागमन ऐनको दफा ९ (१) (क) मा अध्यामगनको प्रचलित कानुनविपरीत कार्य गरेबापत दण्डसजाय भोगिसकेका प्रवेशाज्ञा (भिसा) लिनुपर्ने अवस्थाका विदेशीलाई महानिर्देशकले नेपाल सरकारको स्वीकृति लिई अवधि तोकी वा नतोकी पुनः नेपाल प्रवेश गर्न नपाउने नगरी नेपालबाट निष्काशन गर्ने आदेश जारी गर्न सक्ने उल्लेख गरीएको छ ।

विमानमा उच्छृंखल गतिविधि गर्ने सम्भावना रहेकाले उनीहरूलाई लिन हतियारसहितका चिनियाँ सुरक्षा अधिकारी आउने स्रोतले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?