ताप्लेजुङ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले उत्तर–दक्षिण कोरीडोरलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बुधबार ताप्लेजुङका ४ वटा महत्वपूर्ण सडकखण्डको अनुगमनपछि एक कार्यक्रमको सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
मन्त्री नेम्वाङले ताप्लेजुङका सुकेटार–पाथिभरा सडक खण्ड, दोभान–ढुगेंसाघु–वसन्तपुर सडकखण्ड, सदरमुकाम फुङ्लिङ बाइपास सडक र ताप्लेजुङ-ओलाङ्चुङगोला हुँदै तिव्वत जोड्ने (मदनभण्डारी राजमार्ग)को अनुगमन गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्माओली पहिलो पटक प्रधानमन्त्री भएकोबेला ताप्लेजुङसँग जोडिएका सुकेटार विमानस्थल, पाथिभरा, तमोर कोरीडोर र मदनभण्डारी राजमार्गलाई चासोको रुपमा लिएकोसमेत स्मरण गराएका थिए ।
उनले सरकारले समृद्ध नेपाल, सुखि नेपालीको नारालाई साकार पार्दे विकासलाई प्राथमिकता दिएको उनको भनाई छ । नेम्वाङले पूर्वाधार विकासलाई सरकाले प्राथमिकतामा राखेर काम गरिहेको समेत जानकारी दिए । आफ्ना मन्त्रालय मातहतका कार्यालय अनुगमन गर्दै समयमै काम सक्न मन्त्री नेम्वाङले निर्देशन समेत दिएका छन् ।
मन्त्री नेम्वाङसँगै सचिव देबेन्द्र कार्की, मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडा, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, १ नम्बर सडक डिभिजन कार्यालय प्रमुख रामप्रसाद पोखरेल, संविधान सभा सदस्य भुपेन्द्र थेवे, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालगायतले उक्त सडकहरुको अनुगमन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया