काठमाडौं । ए डिभिजन लिग फुटबलमा जित हात पार्दै थ्री स्टार क्लब लिग तेस्रो स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरथित दशरथ रंगशालामा बुधबार भएको खेलमा १० खेलाडीमा सिमित ब्रिगेड ब्वाईज क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार शीर्ष तीनमा उक्लिएको हो ।
थ्री स्टारलाई जित दिलाउन सुशान्त श्रेष्ठ, अनन्त तामाङ र वासिउ ओलादिरान हाजमातले एक एक गोल गरे । ब्रिगेडका रोशन राना मगरले एक गोल फर्काए । थ्री स्टारले खेलको १५ औं मिनेटमा सुशान्तको गोलबाट खाता खोलेको थियो । खेलको ४१ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई २-० को अग्रता दिलाए ।
यस्तै थ्री स्टारले ५८ औं मिनेटमा तेस्रो गोल गर्यो । विदेशी खेलाडी हाजमातले गोल गरे । उनको नेपाली लिगमा पहिलो गोल समेत हो । खेलको ६६ औं मिनेटमा ब्रिगेड १० खेलाडीमा समेटियो । खेलको ९० औं मिनेटमा ब्रिगेडले सान्त्वना गोल फर्कायो ।
जितसँगै थ्री स्टारले ५ खेलमा १० अंक जोडेको छ । ब्रिगेड ५ खेलमा ६ अंक जोड्दै लिगको सातौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया